• ट्रेण्डिङ:

मिटर बक्समा उल्लेखभन्दा बढी महसुल तिर्नु परेको गुनासो 

मिटर बक्समा उल्लेखभन्दा बढी महसुल तिर्नु परेको गुनासो 

रोदिक खबर

२८, श्रावण २०७८
  • 6.5K
    SHARES
  • मिटर बक्समा उल्लेखभन्दा बढी महसुल तिर्नु परेको गुनासो 

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका विद्युतका ग्राहकले मिटर बक्समा उल्लेखभन्दा बढी महसुल तिर्नु परेको गुनासो गरेका छन् । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका ग्राहकले नेपाल विद्युत प्राधिकरणलाई मिटर बक्समा उठेको भन्दा बढी महसुल तिर्नु परेको गुनासो गरेका हुन् ।

    अनलाइन इन्ट्री गर्न जाँदा मिटर रिडिङ गरेर दिइएको बिलमा उल्लेख गरिएभन्दा बढी महसुल उठेको देखाउने गरिएको अम्बरबहादुर बस्नेतले गुनासो गरे । 
    पाँच वटा वत्ती मात्र बाले वापत हरेक महिना ५० देखि ६० रुपैयाँ हाराहारीमा विद्युतको महसुल बुझाउँदै आएका बस्नेतको जेठ र असार महिनाको विद्युत महसुलको विल भने तीन हजार १०० उठेको देखाइएको छ ।

    यस्तै, सोही ठाउँका सेवाग्राही छत्रमान आले मगरको असारको विलमा विद्युत महसुल शुल्क ६० रुपैयाँ उल्लेख भएपनि महसुल अनलाइनमा इन्ट्री गर्न जाँदा ७७२ रुपैयाँ देखाएको मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए ।

    विद्युतको कर्मचारीले ग्राहको घरमा पुगेर मिटर बक्स रिडिङ गरेर उठेको रकम उल्लेख गरेर एकप्रति बील सम्वन्धित गा्रहकलाई छाड्ने गरेको छ । मिटर रिडरले त्यही बिलको एकप्रति भने कार्यालयमा लगेर बुझाउने र कार्यालयले इन्ट्री गरेपछि ग्राहकले महसुल तिर्ने गरेका छन् । तर, कतिपय मिटर रिडिङ गर्ने कर्मचारीले नै गल्ती गरेको र कतिपय विद्युत प्राधिकरणमा अनलाइन इन्ट्री गर्ने कर्मचारीले कमजोरी गर्ने गरेको ग्राहकको गुनासो छ ।

    ‘मिटर रिडिङ गरेर दिइएको बिलमा कम शुल्क देखिन्छ तर अनलाइनबाट इन्ट्री गर्न जाँदा सोभन्दा बढी शुल्क उठेको देखायो भन्ने धेरै गुनासो आएको छ,’ वडाध्यक्ष राउतले भने, ‘सय–डेढ सय फरक पर्दा त ग्राहकले खासै वास्ता पनि गरेका छैनन् । तर स्वभाविकभन्दा बढी महसुल उठेको भनेपछि धेरैले कम्प्लेन गरिहेका छन् ।’ 

    अनलाइन इन्ट्री गर्दा विलमा उल्लेख गरिएभन्दा बढि विद्युत महसुल तिर्नुपरेको भन्दै वडाबासीले गुनासो गरेपछि वडाध्यक्ष राउत साउन २४ गते नेपाल विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्र पुगेका थिए । वडाध्यक्षको टोलीलाई वितरण केन्द्रले मिटर बक्समा देखिने यूनिटको तस्बिर खिचेर ल्याउन र सो अनुसार समस्याको हल गर्ने आश्वसन दिएको छ । 

    कोभिड–१९ को महामारीका कारण बैशाखदेखि साउनसम्मको मिटर रिडिङ हुन नसक्दा विगतको खपतका आधारमा महसुल तोकिदिँदा समस्या आएको हुनसक्ने नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ललित नारायण चौधरीले बताए । ‘ग्राहकले जुन बिल पाउँछ, अनलाइनमा त्यही इन्ट्री हुनुपर्छ ।

    तर विगत महिनाको खपत हेरेर एभरेजमा तीन महिनाको महसुल निर्धारण गरिएको छ,’ प्रमुख चौधरीले भने, ‘अनुमानका आधारमा राख्दा कसैको विल धेर वा कसैको थोर भएको हुनसक्छ । त्यस्तो भएको रहेछ भने सच्याउने काम हुन्छ ।’ 

    प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - २०:५५:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको