• ट्रेण्डिङ:

डेढ महिना पनि टिकेन अन्नपूर्ण माविको पर्खाल र सिँढी 

डेढ महिना पनि टिकेन अन्नपूर्ण माविको पर्खाल र सिँढी 

रोदिक खबर

२९, श्रावण २०७८
  • 9.9K
    SHARES
  • डेढ महिना पनि टिकेन अन्नपूर्ण माविको पर्खाल र सिँढी 

    भलपानीले बिगारेको अन्नपूर्ण माबिको पर्खाल तथा घेरावारा । 

    दिनराज कार्की 
    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवालुङस्थित अन्नपूर्ण माविको पर्खाल तथा सिँढी निर्माण गरेको डेढ महिनामै भत्किएको छ । संघीय शसर्त अनुदान अन्तरगत आर्थिक वर्ष २०७७/०७८ मा प्राप्त भएको २० लाख १६ हजारमा निर्माण गरिएको पर्खाल तथा सिँडी केही महिनामै भत्किएको हो ।

    गत चैत १७ गते सम्झौता गरिएको विद्यालयको पर्खाल तथा सिँढी निर्माणको काम बैशाख १५ गते सम्पन्न गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताए । लाखौं खर्च गरेर निर्माण गरिएको पर्खाल तथा सिँढी वर्षाको भलले भत्काइदिएको हो । गुणस्तरहिन काम भएका कारण पर्खाल तथा सिँढी डेढ महिना पनि नटिकेको स्थानीय बताउँछन् । 

    भौगोलिक अवस्थाका कारण अन्नपूर्ण माविको भवनहरु तल्लो र माथिल्लो ग¥हामा बनाइएको छ । तल्लो भवनको अगाडि खेलमैदान निर्माण गरिएको छ । संघीय शसर्त अनुदानबाट सोही खेलमैदानको भित्तामा करिब दुई मिटर अग्लो पर्खाल उठाइएको छ । पर्खाललाई माथिबाट खसेको ढुंगामाटोले पुरेको छ । सोही खेलमैदानबाट माथिल्लो भवनमा निस्कने सिँढि निर्माण गरिएको छ । सिँढीको दायाँ–वायाँ पनि चर्किएको छ ।

    यस्तै, माथिल्लो भवन रहेको डिलमा विद्यार्थीलाई लड्नबाट जोगाउनका लागि पेटीजत्रो ढलानमा फलामको खम्बा गाडेर तारजालीको बार हालिएको छ । तर, बिना रड हालिएको तारजालीको विभिन्न भागको सिमेन्टेड जग भलपानीका कारण चर्किएको र भत्किएको छ ।

    wall1.jpg

    कतिपय खम्बा र तारजाली खेलमैदानको डिलमा झुण्डिएको अवस्थामा देख्न सकिन्छ । द¥हो जग नहाली माटोमाथि तारजालीको बार हालिएका कारण भत्किएको स्थानीयले बताएका छन् । माथिल्लो ग्राउण्डमा भल जाने ठाउँ नबनाएका कारण वर्षामा जमेको भलपानीले खोतलेर मुनिका पर्खाल तथा सिँढीमा क्षती पुगेको हो । 

    बनाएको केही समयमै विद्यालयको पर्खाल तथा सिँढी जीर्ण बनेपछि अभिभावक भने असन्तुष्ट छन् । ‘असार २९ मा फरफराक, साउन ७ मा भत्क्यो । अब भन्नुस् यस्को जिम्मेवारी को हो ?,’ स्थानीय गजेन्द्र राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्कुल प्रशासनलाई सोध्दा थाहा छैन भन्छ । स्कुलको हाताभित्र स्कुल प्रशासनलाई थाहा नदिइ निर्माणको काम हुन्छ की हुँदैन ? जसले गरेपनि कामको दिगोपनाका बारेमा सचेत हुनुपर्छ ।’

    वर्षा सुरुहुनु अघि बनाइएको पर्खाल र सिँढी भलका कारण जीर्ण बनेको पर्खाल तथा सिँढी निमार्ण उपभोक्ता समितिका अध्यक्ष बिष्णुमायाँ थापाको स्वीकारोक्ति छ । अन्नपूर्ण माविका प्रअ रेखादेवी बस्नेतले पर्खालभन्दा माथिको खाली जग्गाबाट भलपानी झर्दा नवनिर्मित संरचना बिगारेको बताउँछिन् ।

    दोर्पाचिउरीडाँडाका वडाध्यक्ष लिलाकुमार चौहानले भने भलका कारण सामान्य क्षती भएको बताएका छन् । पर्खाल तथा सिँढीको काम गुणस्तरिय र स्टीमेटभन्दा बढी भएको दावी गर्दै वडाध्यक्ष चौहानले पुःनर्ममतमा करिब ५० हजार खर्च लाग्ने बताए । 

    प्रकाशित मिति :श्रावण २९, २०७८ शुक्रवार - १८:४९:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको