खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देविस्थान पाँडेगाउँका अर्जुन तामाङले मिर्गौला प्रत्यारोपणका लागि आर्थिक सहयोगको याचना गरेका छन् । दुबै मिर्गौला फेल भएपछि तीन वर्ष अघिदेखि नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर अस्पतालमा उपचार गराइरहेका तामाङले मिर्गौला प्रत्यारोपणका लागि सहयोगको याचना गरेका हुन् ।
हाल बेलका नगरपालिका–१ उदयपुर बस्दै आएका ३३ वर्षीय तामाङको मिर्गौला प्रत्यारोपणका लागि साउन ३० गते भर्ना गर्ने तयारी गरिएको छ । मृर्गौला प्रत्यारोपणका क्रममा कम्तीमा ६ लाख खर्च जुटाउन भनिएपछि हारगुहार गर्दा हालसम्म ३ लाख पनि जुट्न नसकेको तामाङ परिवारले बताएका छन् ।
उपचार खर्च निकाल्ने आर्थिक अवास्था नभएपछि अर्जुनकी श्रीमती अञ्जना ताामाङले श्रीमानको मिर्गौला प्रत्यारोपण गर्दै जीवन बचाउका लागि शुभेच्छुक तथा सहयोगी समक्ष सहयोग गर्न आग्रह गरेकी छन् । आफ्नै आमाले मिर्गौला दिने भएपनि प्रत्यारोपणका लागि खर्च अभाव भएको तामाङ परिवारले बताएका छन् ।
मिर्गौला रोगी अर्जुनलाई सहयोग गर्नका लागि उनकै नाममा कुमारी बैंकमा खोलिएको खाता नम्बर एम १३५०११६७४०१००००१ मा रकम जग्गा गर्ने व्यवस्था मिलाइएको छ । तामाङलाई सहयोग गर्नका लागि मोबाईल नम्बर ९८४९७८९२२५ मा फोन गर्न सकिने जनाइएको छ ।