खोटाङको हलेसी बजारबाट २९ हजारभन्दा बढीको म्याद नाघेका खाद्य सामग्री जफत गरेर नष्ट गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीबजारका खाद्य तथा किराना पसलबाट २९ हजार ४९० रुपैयाँ मूल्यको म्याद नाघेका खाद्य सामग्री जफत गरेर नष्ट गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय खोटाङ, घरेलु तथा साना उद्योग कार्यालय, हलेसी तुवाचुङ नगरपालिका र ईलाका प्रहरी कार्यालय हलेसीको संयुक्त टोलीले शुक्रबार गरेको अनुगमनका क्रममा म्याद नाघेका बिस्कुट, चाउचाउ, पेप्सी, दाल, आँटा, पापड, ग्लुकोज, मसला, कुरमुरे, मसला लगायतका सामग्री जफत गरेको हो ।
कोभिड–१९ को महामारीकाबिचमा हुनसक्ने कालोबजारी, मूल्यवृद्धि, कृत्रि अभाव लगायतका विषयलाई लक्षित गर्दै अनुगमन गरिएको प्रशासनले जनाएको छ । अनुगमन टोलीले व्यवसायीलाई म्याद नाघेका खाद्यबस्तु बिक्रीवितरण नगर्न, दर्ता नगरिएका पसललाई तत्काल दर्ता गरेर मात्र व्यावसाय सञ्चालन गर्न अनुरोध गरेको छ । संक्रमणको महामारीका बेला सर्वसाधारणलाई ठगिनबाट जोगाउनका लागि बजार अनुगमन गरिएको जनाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठ, उद्योग अधिकृत भेषराज खत्री, नगरपालिकाका अधिकृत रविकिरण आचार्य, प्रहरी निरीक्षक प्रमोद कार्की लगायतको टोलीले बजार अनुगमन गरेको हो । यसबिचमा जिल्लाकै केन्द्र दिक्तेलबजारमा भने बजार अनुगमन गरिएको छैन । जफत गरिएका अखाद्य सामग्री इलाका प्रहरी कार्यालयको परिषरमा नष्ट गरिएको छ ।