काठमाडौं । सरकारले बिपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ। आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बिपीका नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो ।
सरकारले आर्थिक बर्ष २०७८/०७९ का लागि विभिन्न आयोजनाका लागि अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको छ। उनकाअनुसार निजामति सेवा व्यवस्था बमोजिम निजामति सेवा दिवस दिन भोलि (मंगलबार) ४० जना कर्मचारीलाई पुरस्कार वितरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
बैठकले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ। अन्तर्राष्ट्रिय विकास क्षेत्रबाट विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि सहुलियतपूर्ण ऋण सहायता स्वरुप प्राप्त हुने ५ अर्ब ५४ करोड ऋण स्वीकार गर्ने निर्णय गरेको छ।
अन्तर्राष्ट्रिय विकास संस्थामार्फत नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापनका लागि सुधारका लागि ५ अर्ब ९४ करोड बराबरको अतिरिक्त सहुलियतपूर्ण ऋण स्वीकार गर्ने र जलवायु परिवर्तन सम्बन्धी अनुकूल कार्य गठबन्धन तथा सोको निर्देशक समितिमा नेपाल सदस्य मुलुकमा सहभागी हुने प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ।
दार्चुलाको ब्यास गाउँपालिकास्थित छाङरुमा स्थापना भएका नेपाल प्रहरी चौकी र शसस्त्र प्रहरी भवनका लागि ८ हजार ५०० सय क्यूफिट सल्लो प्रजातिको काठ संकलन गरि स्वीकृत प्रदान गर्नेसमेत निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए।