दिनराज कार्की
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित बालज्योती प्राविमा शिक्षक संख्याको अनुपातमा विद्यार्थी संख्या कम रहेको पाइएको छ । दुई वटा स्थायी दरबन्दी र एक वटा करार दरबन्दी रहेको विद्यालयमा हाल विद्यार्थी संख्या भने २५ जना मात्र रहेको जनाइएको छ ।
कक्षा ४ सम्मको पठन–पाठन हुँदै आएको विद्यालयमा हाल कक्षा १ मा १२ जना र कक्षा २ मा ६ जना विद्यार्थी अध्ययनरत रहेको प्रअ उर्मिला कट्वालले बताइन् । प्रअ कट्वालका अनुसार कक्षा ३ र कक्षा ४ को विद्यार्थी संख्या भने विद्यालय खुलेपछि मात्र खुल्ने छ । कोभिड–१९ को महामारीका कारण सो विद्यालयको पठन–पाठन गत बैशाख १५ गतेदेखि बन्द छ ।
सो ठाउँका अधिकांश अभिभावकले आफ्ना बालबच्चालाई बोर्डिङ स्कुलमा भर्ना गरेका कारण बालज्योतीमा विद्यार्थी संख्या न्यून देखिएको हो । सो विद्यालयमा सामान्य पारिवारिक अवस्थाका बालबच्चा मात्र अध्ययन गर्न आउने गरेका छन् । त्यसमा पनि दलित वस्तीका बालबालिका बालज्योतीमा आउने गरेको व्यवस्थापन समितिका अध्यक्ष राजन बस्नेतले बताए । ‘यहाँ विद्यालय नभए दुई दर्जन जना बालबच्चाको भविष्य अन्धकार हुन्छ,’ विव्यास अध्यक्ष बस्नेतले भने, ‘सितला मावि मावि पुग्न टाढा पर्छ, सगरमाथा प्रावि धेरै तल पर्छ । भौगोलिक रुपले समस्या छ ।’
सो विद्यालयमा विद्यार्थी संख्या न्यून रहेको गत जेठ २५ गते प्रकाशित २०७७ सालको वार्षिक परीक्षाको नतिजाले पनि देखाउँछ । सो नतिजामा कक्षा १ उत्तिर्ण गर्ने प्रथम दोश्रो र तेश्रो सहित पाँच जना उल्लेख छ । कक्षा २ र कक्षा ३ उत्तिर्ण गर्ने विद्यार्थीको सूचीमा प्रथम दोश्रो र तेश्रोको नाम मात्र उल्लेख छ ।
कक्षा ४ उत्तिर्ण गर्नेको लिष्टमा प्रथम विद्यार्थीको नाम मात्र उल्लेख छ । यस्तै, २०७७ सालमा प्रारम्भिक बाल शिक्षा केन्द्रमा ३ जना, कक्षा १ मा ६ जना, कक्षा २ मा ४ जना, कक्षा ३ मा ३ जना र कक्षा ४ मा २ जना गरी कुल विद्यार्थी संख्या १८ जना रहेको नगरपालिकाकै तथ्यांकमा उल्लेख छ । झरी वर्षा भएको र गाउँघरमा पूजापाठ भएको दिन पनि विद्यालयमा विद्यार्थी अनुपस्थित हुने गरेका छन् । सो विद्यालयमा ५ देखि १० जना विद्यार्थी उपस्थित हुने गरेको खाल्लेका वडा सदस्य धनकुमारी श्रेष्ठले बताईन् ।
विद्यार्थी संख्या न्यून रहेको सो विद्यालयमा नगरपालिकाले गत भदौ १ गते थप अर्को एक जना करार शिक्षक नियुक्ति गरेको हो । विद्यार्थी संख्या नभएको विद्यालयमा केवल जागीर खुवाउनकै लागि शिक्षक थपेको भन्दै कतिपय अभिभावकले आलोचना गरिरहेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्थानीय राजपत्रमा प्रकाशित शिक्षा ऐन २०७५ मै ‘नगरपालिकाले शिक्षकको दरबन्दी निर्धारण गर्दा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्या र विषयका आधारमा राष्ट्रिय वा प्रादेशिक मापदण्ड बमोजिम विद्यार्थी तथा शिक्षक अनुपात कायम गर्नु पर्नेछ’ उल्लेख छ । यस अनुसार एक शिक्षक बराबर सरदर ४५ विद्यार्थी हुनुपर्छ ।
नगर शिक्षा ऐनमा प्राथमिक तहको विद्यालयमा २२ जनाभन्दा कम विद्यार्थी संख्या भएमा नगर शिक्षा समितिको सिफारिसमा बाल शिक्षा केन्द्र मात्र कायम राखी त्यसमाथिका कक्षाहरु बन्द गर्न सक्ने छ’ भनिएको छ ।
खाल्लेका वडाध्यक्ष डिल्ली चाम्लिङले भने शिक्षक भर्ना गर्दा रिसइवि गरिएको बताए । ‘हामीले शिक्षक नियुक्तिका लागि विज्ञापन खुलाएका थियौँ, त्यही रिसइविले विद्यार्थी आउँदैन भनेका हुन्,’ वडाध्यक्ष चाम्लिङले भने, ‘विद्यालयमा विद्यार्थी नियमित उपस्थित हुन्छन् । प्रायः दलित वस्तीका विद्यार्थी आउने गरेका छन् ।’