खोटाङ । खोटाङको त्रिधार्मिकस्थल हलेसीमा पद्मसम्भवको प्रतिमा शिलान्यास गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धनका लागि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मञ्जुश्री गुफा क्षेत्रमा नगरपालिका र नेपाल बौद्ध महासंघको सहकार्यमा आचार्य गुरु पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा शिलान्यास गरिएको हो ।
नगरपालिकाका नगरप्रमुख इवन राई र नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाबिचमा २०७७ साल माघ १८ गते भएको १९ बुँदे सम्झौता अनुसार वौद्ध लामा जोपा रिन्पोछेले पूजाआजा गर्दै पद्मसम्भवको प्रतिमा शिलान्यास गरेका हुन् ।
ध्वजापताका क्षेत्र, स्वागत द्धार, ध्यान केन्द्र, शान्ति पदयात्रा, विश्राम गृह, बगैंचा, मञ्जुश्री क्षेत्रभन्दा माथि डाँडामा गुम्बा, सरोवर निर्माण, पद्मार्ग लगायतका संरचना निर्माण गरिने पद्मसम्भव पार्कमा बढिमा ५ वर्षभित्र पद्मसम्भवको मुर्ती राख्नेगरी काम सुरु गरिएको नगरप्रमुख राईले बताए। हलेसी बृहत्तर गुरुयोजना अनुसार पद्मसम्भव पार्कमा करिब ५ करोडभन्दा बढिको खर्चमा पद्मसम्भवको प्रतिमा राख्ने काम पूरा गरिने नेपाल बौद्ध महासंघले जनाएको छ ।
पद्मसम्भवको साना तथा ठूलो मुर्ती राखिने पार्क क्षेत्रमा शान्ति पूजा हल, चैत्य निर्माण, वौद्ध धर्म संग्रहालय तथा पुस्तकालय, माने निर्माण, प्रतिमा निर्माण, वौद्ध स्ववारिक्पा शिक्षण केन्द्र, अनुसन्धान केन्द्र, गार्डेन, ढल, पानी, विजुली व्यवस्थापन, तारबार तथा पर्खाल, अपांगमैत्री शान्ति मार्ग लगायतका संरचना निर्माण गरिने नगरप्रमुख राईले जानकारी दिए ।
हलेसीमा पद्मसम्भवको प्रतिमा स्थापना पश्चात वौद्ध धर्म परम्परा अनुसार साँस्कृतिक, अध्यात्मिक महत्वलाई जीवित राख्नका लागि त्यसको रेखदेख, सञ्चालन, संरक्षण, मर्मत सम्भार र पाठपूजाको व्यवस्था बौद्ध महासंघले गर्ने सम्झौता छ । पार्कमा प्रवेश गर्ने आगन्तुकबाट शुल्क उठाएर आम्दानी बाँध्ने र पार्क क्षेत्रमा घेरावारा, पदमार्ग र मूल प्रवेशद्धार निर्माणको काम प्रथम पक्षले गर्ने छ ।