खोटाङ । कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै चार महिनादेखि बन्द गरिएको खोटाङको त्रिधार्मिकस्थल हलेसी मन्दिर खुला गरिएको छ । जिल्लामा कोभिड–१९ को संक्रमण दर घट्दै गएको तथा संक्रमण दर न्यून रहेको भन्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा संयोजकत्वको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकको निर्णय अनुसार सोमबार बिहानदेखि हलेसी खुला गर्दै पूजाआजा सुरु गरिएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार बैशाख १५ गतेदेखि हलेसी मन्दिर गुफा बन्द गरिएको थियो । चार महिनाभन्दा बढि समयदेखि बन्द रहेको हलेसी मन्दिर कोभिड सम्वन्धी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पुजाआजा गर्न मिल्नेगरी खुला गरिएको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए ।
कोभिड–१९ को दोश्रो लहरको महामारी फैलिन थालेसँगै दैनिक बिहान र बेलुका हुँदैआएको नित्य–नैनित्य पूजालाई मात्र निरन्तरता दिने गरी हलेसी गुफा प्रवेश गर्ने गेटमा हलेसी महादेवस्थान बिकास समिति र हलेसी मन्दिर व्यवस्थापन समितिले ताला हालेको थियो ।
बिहान र बेलुकाको नित्य नैनित्य पूजाका क्रममा पुजारी र बाजा बजाउने नगर्चीलाई मात्र हलेसी मन्दिर प्रवेश गर्न अनुमति दिइएको थियो । यसबिचमा हलेसी दर्शनमा आएका दर्शनार्थी एवं तिर्थयात्रीले गेट बाहिरबाटै दर्शन र पूजाआजा गर्ने व्यवस्था मिलाइएको थियो ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पु¥याउने उद्देश्यले हलेसी प्रवेशमा रोक लगाइएको यो दोश्रो पल्ट हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डिसिसिएमसि०का अनुसार हलेसी सँगै जिल्लाका सबै मठ, मन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा र चर्चमा दैनिकरुपमा गरिने नित्य नैनित्य पूजा, प्रार्थना सहित पूजा, प्रार्थना, भजनकृतन, कलश यात्रा, बलिपुजा जस्ता धार्मिक कार्यहरु खुला गर्ने निर्णय गरिएको छ ।