• ट्रेण्डिङ:

अपायक ठाउँमा बनाइएको भन्दै वडा कार्यालयमा दोश्रोपल्ट ताला 

अपायक ठाउँमा बनाइएको भन्दै वडा कार्यालयमा दोश्रोपल्ट ताला 

रोदिक खबर

२८, भाद्र २०७८
  • 11.8K
    SHARES
  • अपायक ठाउँमा बनाइएको भन्दै वडा कार्यालयमा दोश्रोपल्ट ताला 

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको वडा कार्यालयमा ताला लगाइएको छ । असहमती जनाउँदा–जनाउँदै वडाबासीको अपायक पर्ने ठाउँमा वडा कार्यालयको भवन बनाइएको, एउटा प्लट जग्गा देखाएर दुई ठाउँको जग्गा वडा कार्यालयको नाममा पास गरेर ढाँट्ने काम गरिएको लगायतका आरोप लगाउँदै सोल्माका असन्तुष्ट स्थानीयले सोमबार वडा कार्यालयमा ताला लगाएका हुन् । 

    जनता समाजवादी पार्टीका जिल्ला सदस्य धनीराम नछुङ, कांग्रेसका वडा सभापति पदम पुरी र नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष सप्तमनी राईको अगुवाईमा गएका स्थानीयले कर्मचारीलाई बाहिर निकालेर वडा कार्यालयमा ताला लगाएका हुन् ।
    वडा कार्यालयमा ताला लगाएको केही छिनपछि प्रहरीको टोली सोल्मा पुगेको थियो । वडा कार्यालय सोल्मामा ताला लागेको यो दोश्रो पल्ट हो । वडा कार्यालयको स्थान छनौटका विषयमा असहमती जनाउँदै आएका स्थानीयले गत असार ५ गते लगाएको ताला भदौ १५ गते प्रहरी परिचालन गरेर खोलिएको थियो ।

    सोल्माको होस्माटोल साकेलाथान नजिकै भाडाको घरबाट सञ्चालन हुँदै आएको वडा कार्यालयलाई डाँडागाउँस्थित बसपार्क नजिकै निर्माण गरिएको नयाँ भवनमा सारिएपछि विवाद सुरु भएको हो । गत बैशाख २८ गते वडा कार्यालय सार्नेक्रममा पनि उनीहरुले अवरोध गरेका थिए ।

    सोही दिन वडा सदस्य अम्मरबहादुर श्रेष्ठले पनि विज्ञप्ति जारी गर्दै भवन निर्माण गरिएको जग्गा एकमुष्ट ५ रोपनी भन्दा बढि हुनुपर्नेमा वडाध्यक्ष र केही व्यक्तिहरुको मिलेमतोमा प्राविधिकले नापेकोभन्दा फरक–फरक जग्गा र छुट्टाछुट्टै स्थानमा वडा कार्यालयको नाममा जग्गा पास गरिएको पाइएको भन्दै विरोध जनाएका थिए ।

    वडा कार्यालयको भवन बनाइएको जग्गा साँढे तीन रोपनी छ । सोभन्दा करिब तीन सय मिटर तल डेढ रोपनी जग्गा वडाको नाममा पास गरिएको असन्तुष्ट स्थानीय बताउँछन् । 

    सोल्मामा स्थायी रुपमा वडा कार्यालय राख्ने विषयमा सुरुदेखि नै विवाद थियो । अन्तिममा असहमतीकै बीच वडा कार्यालयलाई स्थायीरुपमा डाँडागाउँमा राख्ने टुंगो लगाइएकाले विरोध जनाउनु परेको स्थानीय एवं जसपाका जिल्ला सदस्य नछुङले बताए । ‘बल मिच्याइ गरेर वडाको भवन बनाइयो । अहिले भवनको विरोध गरेको होइन । तर, किन टुक्रे जग्गामा बनाइयो भन्ने प्रश्न हो,’ नछुङले भने, ‘वडाको नाममा जग्गा पास हुन अगावै भवन निर्माण सुरु गरियो । टुक्रे जग्गा लिएर वडाबासीलाई एउटा प्लटमा भवन बनाउने भनेर छलछाम गर्ने काम गरियो ।

    ’ वडा कार्यालयको भवन निर्माणका लागि तीन स्थानको जग्गा प्राप्त भएपछि उपयुक्त जग्गा छनौटका लागि नगरपालिकाका प्राविधिकलाई जिम्मा दिइएकोमा सेटिङमा एउटै कित्ता भन्दै अपायक पर्ने दुई कित्ता जग्गा पास गराइएको नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष राईले बताए ।

    फरक–फरक स्थानमा भएको खण्ड जग्गाको सट्टा प्लट भएको जग्गा छनौटका लागि महिना दिनको समयसीमा दिइएको भएपनि बेवास्ता गरिएको कांग्रेस वडा सभापति पुरीले बताए । 

    गत बैशाख १८ गते नै उद्घाटनको तयारी गरिएको वडा कार्यालयको भवन कोभिड–१९ को महामारी लगायतका कारण रोकिएको जनाइएको छ । सोल्माका वडाध्यक्ष हर्क खत्रीले भवन निर्माण भइसकेपछि वडा कार्यालय सर्ने बेला अड्को थाप्नुको कुनै अर्थ नभएको बताउँदै आएका छन् । ‘कि पहिल्यै भवन बनाउन दिन हुन्नथ्यो,’ वडाध्यक्ष खत्रीले भने, ‘बनिसकेपछि अहिले अड्को थापेर हुन्न ।’ 

    प्रकाशित मिति :भाद्र २८, २०७८ सोमवार - १७:४६:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको