चितवन । नवलपरासी पूर्वको गैंडाकोटमा यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।
गैँडाकोट नगरपालिका–१० थुम्सी पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किएको प्रहरीले जनाएको छ ।
बडाइभर्सन नजिकै ट्रकसँग ठोक्किएको बस सडकदेखि १० फिट तल खस्दा दुई जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकहरुको परिचय खुलेको छैन । घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमै उपचार भैरहेको छ ।