खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ वडा कार्यालयले विद्यालयलाई मास्क, सेनीटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ । कोभिड–१९ को महामारीका कारण लामो समयदेखि ठप्प भएको पठन–पाठन सुचारु भएपछि वडा कार्यालयले वडाभित्रका एक माबि, एक आधारभुत र तीन प्राविलाई मास्क, सेनिटाइज र सेनिटरी प्याड वितरण गरेको हो ।
वडाको बजेटबाट छात्र/छात्राले पाउनेगरी विद्यालयलाई बुधबार स्वास्थ्य सामग्री वितरण गरिएको बाम्राङका वडाध्यक्ष ललितकुमार राईले बताए ।
माबिलाई २ सय थान मास्क र ५ सय एमएलको दुई थान सेनिटाइजर, आधारभुत विद्यालयलाई डेढ सय मास्क र ५ सय एमएलको दुई थान सेनिटाइजर तथा प्राविलाई ५०/५० थान मास्क, ३/३ थान सेनिटाइजर वितरण गरिएको छ ।
यस्तै, छात्राको संख्याका आधारमा सेनिटरी प्याड वितरण गरिएको वडा कार्यालयले जनाएको छ । संक्रमणबाट जोगिनका लागि छात्रा/छात्रलाई नियमित मास्क लगाउने र सेनिटाइजरको प्रयोग गर्न÷गराउनका लागि स्वास्थ्य सामग्री वितरण गरिएको वडाध्यक्ष राईले बताए ।
‘गाउँघरमा सबैले मास्क लगाउँदैनन् । मास्न नलगाएपछि संक्रमण फैलिने त्रास हुन्छ,’ वडाध्यक्ष राईले भने, ‘सवैले अनिवार्य मास्क लगाउनु पर्छ । छैन भने किनेर भए पनि लगाउनु पर्छ भनेर प्रोत्साहन स्वरुप वितरण गरिएको हो ।’ १५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भदौ २७ गतेदेखि विद्यालयमा भौतिक उपस्थितिमै पठन–पाठन सुचारु गराइएको छ ।