• ट्रेण्डिङ:

विद्यालयलाई पर्शुराम राई स्मृति प्रतिष्ठानको स्वास्थ्य तथा खेलकुद सामग्री 

विद्यालयलाई पर्शुराम राई स्मृति प्रतिष्ठानको स्वास्थ्य तथा खेलकुद सामग्री 

रोदिक खबर

२, आश्विन २०७८
  • 12.6K
    SHARES
  • विद्यालयलाई पर्शुराम राई स्मृति प्रतिष्ठानको स्वास्थ्य तथा खेलकुद सामग्री 

    खोटाङ । स्वर्गीय पर्शुराम राई स्मृति प्रतिष्ठान काठ्माण्डौंले खोटाङका १२ विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गरेको छ । कोभिड–१९ को महामारीपछि पठन–पाठन सुचारु भएको विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै प्रतिष्ठानले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ मावि र ६ प्राविलाई स्वास्थ्य तथा खेलकुदका सामग्री प्रदान गरेको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माविमा कार्यक्रम गर्दै प्रतिष्ठानले नेर्पा, दोर्पाचिउरीडाँडा, निर्मलीडाँडा र पाथेकाका मावि तथा नेर्पाका ६ वटा प्राविलाई मास्क, सेनीटाइजर, भलिवल, नेट, डस्बिन, टिटि बल, टिटि सेट लगायतका स्वास्थ्य सुरक्षा तथा खेलकुद सामग्री वितरण गरेको छ । 

    कार्यक्रममा उपस्थित विद्यालय प्रअलाई १० हजार पिस मास्क, ५ लिटरको २४ जार सेनीटाइजर, २४ थान सानो भलिवल, १२ थान पम्प, ३६ थान डस्बिन, २४ थान टिटि बल, १२ वटा टिटि सेट, पुस्तक लगायतका स्वास्थ्य तथा खेलकुदका सामग्री हस्तान्तरण गरिएको प्रतिष्ठानले जनाएको छ । माविलाई भने थप एक÷एक थान भलिवल र नेट प्रदान गरिएको प्रतिष्ठानका सचिव इन्द्रकुमार राईले जानकारी दिए ।

    प्रतिष्ठानका सल्लाहकार आरके दाहाल र अरविका थापा, संरक्षक टंकबहादुर श्रेष्ठ र रविन चाम्लिङ, उपाध्यक्ष चन्द्रकुमारी राई लगायतले विद्यालयलाई स्वास्थ्य सुरक्षा तथा खेलकुदका सामग्री हस्तान्तरण गरेका हुन् । विद्यालयको मागका आधारमा एनसिभी नेपाल र ग्रीन भिलेज हाउजिङ प्रालिको प्रयोजनामा कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणमा सहयोग पु¥याउने खालका स्वास्थ्य सामग्री जुटाएर जिल्ला ल्याइएको प्रतिष्ठानका सल्लाहकार रविन चाम्लिङले बताए ।

    कार्यक्रममा नेर्पाका ज्येष्ठ नागरिक धनप्रसाद पराजुली, कुमारीकृष्ण राई, रामबहादुर राई, कमला गुरुङ, बृषबहादुर दाहाल, पत्थरबहादुर राई र अर्जधन राईलाई ली र सानो थर्मस सहित सम्मान गरिएको छ ।

    सोही कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार श्रेष्ठले कालिका माविमा अक्षय कोष स्थापनाका लागि प्रअ बेदीकुमार राईलाई ५० हजारको चेक हस्तान्तरण गरेका छन् । कालिका माविबाट एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई व्याजबाट पुरस्कृत गर्ने व्यवस्थाका लागि श्रेष्ठले अक्षय कोष स्थापनार्थ सहयोग गरेका हुन् । 

    पहिलो चरणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २२ वटा माविलाई स्वास्थ्य तथा खेलकुद सामग्री हस्तान्तरण गर्ने जनाइएको छ । त्यसपछि क्रमशः जिल्लाका १० वटै स्थानीय तहका विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री उपलव्ध गराइने प्रतिष्ठानका सल्लाहकार चाम्लिङले बताए ।

    पञ्चायत कालका चर्चित नेता पर्शुराम राईको स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको हो । जिल्लामा अहिले पनि पर्शुरामको ‘हाइट’लाई बिर्साउने नेता नजन्मिएको भन्ने गरिन्छ । 

    प्रकाशित मिति :आश्विन २, २०७८ शनिवार - १८:४४:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको