खोटाङ । बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्ने प्रणालीलाई सहज बनाउने लक्ष्यका साथ खोटाङको साकेला गाउँपालिकाले घरदैलो अभियान सञ्चालन गरेको छ ।
अशक्त, अपांगता भएका लाभग्राही तथा ९० वर्षभन्दा माथिका जेष्ठ नागरिकको घरैमा पुगेर बैंक खाता खोल्ने व्यवस्थाको लागि गाउँपालिकाले नेपाल एसबिआई बैंकसँगको सहकार्यमा अभियान सञ्चालन गरेको हो ।
साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवा, बादुङ, बाँझे, कुन्तुङ, डाँडागाउँ, धुमा तथा साकेला गाउँपालिका–५ मात्तिमबिर्ताको कात्तिके, डाँडाटोल, पलंखा, बिर्ता र साकेला गाउँपालिका–४ मात्तिमको आहाले, मानेगाउँ, पारुङ लगायतका गाउँका घर–घरमा पुगेर सामाजिक सुरक्षा भत्ता लिने अशक्त र अपांगता भएका लाभग्राहीको बैंक खाता खोल्ने काम पुरा गरिएको गाउँपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङ राईले बताए ।
साकेला गाउँपालिकाले नेपाल एसबिआई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएको छ । अशक्त भएर हिँडडुल गर्न नसक्ने, अपांगता भएका व्यक्ति तथा ९० वर्षभन्दा माथिका लाभग्राही सामाजिक सुरक्षा भत्ताका लागि खाता खोल्न शिबिर वा बैंकसम्म पुग्न नसक्ने तथ्यलाई मध्यनजर गर्दै घरदैलो पुग्ने अभियान चलाइएको गाउँपालिकाले जनाएको छ ।
‘सामाजिक सुरक्षा भत्ताका लागि घर–घरमा पुगेर खाता खोल्ने व्यवस्थाले हिँडडुल गर्न नसक्ने अवस्थाका अशक्त लाभग्राहीलाई राहत मिलेको छ,’ सामाजिक सुरक्षा शाखा प्रमुख राईले भने, ‘सामाजिक सुरक्षा भत्ता कार्यविधि, २०७७ को दफा १५ बमोजिम कतिपय लाभग्राहीलाई नजिकका आफन्तमार्फत पनि सामाजिक सुरक्षा भत्ता झिक्न पाउने व्यवस्था मिलाइएको छ ।’
५ वडामध्ये अव साकेला गाउँपालिका–२ रतन्छा र साकेला गाउँपालिका–३ खिदिमामा पनि सामाजिक सुरक्षा भत्ताका अशक्त र अपांगता भएका लाभग्राहीको पहिचान गरेर घरदैलमै पुगेर खाता खोल्ने लगायतका सेवा प्रवाह गरिने सामाजिक सुरक्षा शाखाले जनाएको छ ।