खोटाङ । खोटाङमा सञ्चालित हलेसी न्यूज नेटवर्कको कार्यालयबाट क्यामेरा र ल्यापटप चोरी गर्ने युवा विरुद्ध किटानी जाहेरी परेको छ । दिक्तेलबजारको पुरानो बेस क्याम्पस्थित कार्यालयबाट बुधबार एक थान क्यामेरा र एक थान ल्यापटप चोरी गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका २४ वर्षीय अर्जुन दाहाल विरुद्ध किटानी जाहेरी परेको हो ।
नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दिलीप खत्री, प्रेस यूनियनका सभापति उत्तम चौंलागाई, पत्रकार सन्तोष पौडेल र राजन टठालले बिहिबार युवा विरुद्ध किटानी जाहेरी दिएका हुन् ।
अभियुक्तले हलेसी न्यूज नेटवर्कको क्यामेरा र पत्रकार पौडेलको ल्यापटप चोरी गरेर फरार भएका थिए । ल्यापटप र क्यामेरा दिक्तेलकै एक ज्वैलरी पसलबाट बरामद गरिएको थियो ।
दाहाललाई बिहिबार दिक्तेलबजारबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । अभियुक्त विरुद्ध मुद्धा दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक उमेश लम्सालले बताए ।