• ट्रेण्डिङ:

कोभिड विरुद्धको उद्धार तथा सहयोगमा खटिएका जनप्रतिनिधि सहित दुई जनालाई सम्मान 

कोभिड विरुद्धको उद्धार तथा सहयोगमा खटिएका जनप्रतिनिधि सहित दुई जनालाई सम्मान 

रोदिक खबर

१५, आश्विन २०७८
  • 4.1K
    SHARES
  • कोभिड विरुद्धको उद्धार तथा सहयोगमा खटिएका जनप्रतिनिधि सहित दुई जनालाई सम्मान 

    खोटाङ । खोटाङमा कोभिड–१९ को महामारीका बेला आफ्नो ज्यानको बाजी लगाएर उद्धार तथा सहयोगमा खटिएका जनप्रतिनिधि सहित दुई जनालाई सम्मान गरिएको छ ।

    कोभिड–१९ को महामारीका कारण सिंगो मानव समुदाय त्रसित बनेको अवस्थामा जोखिम मोलेर उद्धार तथा सहयोगमा अग्रसर बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडा सदस्य प्रकाश श्रेष्ठ र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अभियान चलाएका युवा कबिराज रिजाललाई गैर–सरकारी संस्था महासंघले सम्मान गरेको हो ।

    ज्यानको मायाँ मारेर कोभिड विरुद्ध लागि परेका वडा सदस्य श्रेष्ठ र युवा अभियान्ता रिजाललाई शुक्रबार ४२ औं सामाजिक सेवा दिवसको अवशर पारेर सम्मान गरिएको हो । 

    जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, गैसस महासंघका संस्थापक जिल्ला अध्यक्ष एबं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष विकास राईमार्फत ‘कोभिड हिरो’लाई दोसल्ला ओढाएर प्रशंसा–पत्र प्रदान गरिएको गैर–सरकारी संस्था महासंघ खोटाङका अध्यक्ष दानबहादुर राईले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वडाका ६० जना वडा सदस्यमध्ये कोभिडका बेला उत्कृष्ट सेवा गरेकामा श्रेष्ठलाई सम्मान गरिएको महासंघले जनाएको छ । 

    सामाजिक सेवा दिवसको अवशरमा निजामती कर्मचारीबाट सेवा निवृत्त भएपछि घुंगारुको लट्ठी बनाउँदै ज्येष्ठ नागरिक र अपांगलाई निःशुल्क वितरण गर्दै आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका चन्द्रप्रसाद आचार्यलाई पनि सम्मान गरिएको छ ।

    घुंगारुको आकर्षक लट्ठी बनाउँदै विभिन्न ठाउँका ज्येष्ठ नागरिक, अपांग र अशक्तलाई वितरण गर्दै सामाजिक हितमा पु¥याएको योगदानको कदर गर्दै आचार्यलाई सम्मान गरिएको गैसस महासंघका अध्यक्ष राईले बताए । आचार्यले हालसम्म ४ हजार २९५ जनालाई लट्ठी वितरण गरिसकेका छन् । 

    गैसस महासंघले अपांग र अशक्त पाँच विद्यार्थी सहित ७ जनालाई प्रतिवटा तीन हजार मूल्या पर्ने झोला प्रदान गरेको छ । अपांग सेवा संघको सिफारिसमा छात्र/छात्रा सोनु हिङमाङ, दिपा अधिकारी, यूनिसा राई, प्रज्वल राई र विनिशा आचार्यलाई झोला वितरण गरिएको हो ।

    छात्र/छात्रालाई गैसस महासंघका संस्थापक अध्यक्ष एवं वडाध्यक्ष राईले उपलव्ध गराएको १५ हजारमा झोला प्रदान गरिएको हो । यस्तै, गैसस महासंघका सदस्य रहेका अशक्त झगराज राई र सांगीतिक क्षेत्रमा भविष्य खोज्दै गरेकी बेदन राईलाई पनि झोला वितरण गरिएको महासंघका अध्यक्ष राईले जानकारी दिए । 

    प्रकाशित मिति :आश्विन १५, २०७८ शुक्रवार - २०:४७:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको