खोटाङ । खोटाङमा तोकिएभन्दा बढि भाडा असुल गर्ने सुमो व्यवसायीबाट प्रहरीले भाडा फिर्ता गराएको छ । हलेसीबाट काठ्माण्डौं जानेक्रममा नौ यात्रुबाट जनही दुई हजारका दरले भाडा उठाएका ना. १ ज. ५४४५ नम्बरको सुमो चालकबाट भाडा फिर्ता गराइएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।
हलेसीबाट काठ्माण्डौं एकतर्फी आवत–जावतका लागि जनही एक हजार तीन सय भाडा निर्धारण गरिएको भए पनि सुमोको हलेसीस्थित काउण्टरबाट जनही दुई हजारका दरले भाडा उठाइएको यात्रुको गुनासो छ ।
आफुहरुबाट तोकिएभन्दा बढि भाडा लिइएको भन्दै यात्रुले ईलाका प्रहरी कार्यालय हलेसीलाई फोनमार्फत गुनासो पोखेपछि बाटोमा पर्ने प्रहरीचौकी च्यास्मीटारले सुमो रोकेर बढि भाडा फिर्ता गराएको हो । अधिक भाडा लिइएको शंका लागेपछि प्रहरीलाई खबर गरेको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङकी यात्रु सरीता राईले बताइन् ।
तोकिएभन्दा सात सय बढि भाडा लिएको काउण्टरले यात्रुलाई टिकट उपलव्ध नगराएको जनाइएको छ । सहमतीमै भाडा लेनदेन भएको काउण्टरका कर्मचारीको प्रतिक्रिया छ ।
दशैं तिहारका बेला आवतजावत गर्ने यात्रुबाट बढि भाडा लिइएको विषयमा चेकाजाँचका लागि सडक आसपासका प्रहरी चौकीलाई निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सागर साहले बताए ।