• ट्रेण्डिङ:

पुरातत्व विभागको मन्दिर : गुणस्तरमा उठ्यो प्रश्न 

पुरातत्व विभागको मन्दिर : गुणस्तरमा उठ्यो प्रश्न 

रोदिक खबर

७, कार्तिक २०७८
  • 4.0K
    SHARES
  • पुरातत्व विभागको मन्दिर : गुणस्तरमा उठ्यो प्रश्न 


    दिनराज कार्की/कृष्णकला राई 

    खोटाङमा पुरातत्व विभागमार्फत प्राप्त भएको बजेटमा निर्माण गरिएको मन्दिरको गुणस्तरमाथि स्थानीयले प्रश्न उठाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा, बराहपोखरी गाउँपालिका–१ बराहपोखरी लगायतका स्थानमा निर्माण गरिएको मन्दिरको गुणस्तरको विषयमा स्थानीयले आवाज उठाएका हुन् ।

    पुरातत्व विभागको बजेटमा जालपामा निर्माण गरिएको कृष्ण मन्दिर लागतभन्दा सानो आकारको बनेको भन्दै स्थानीयले प्रश्न उठाइरहेका छन् । सो मन्दिर निर्माणका क्रममा अनियमितता भएको भन्दै स्थानीय स्तरमा आवाज उठेको जालपाका वडाध्यक्ष विकास राईले बताए ।

    ‘सरकारी काम के गरी खाम : जालपामा पुरातत्व विभागको योजना अन्तरगत ३९ लाखको राधाकृष्ण मन्दिर निर्माण भएछ तर, त्यति बजेटमा बन्ने संरचना यस्तै हो त ? कसरी पत्याउँ,’ जालपाका स्थानीय निरकुमार श्रेष्ठले भदौ ८ गते सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसको आम्दानी, खर्च तथा सार्वजनिक सुनुवाई कसले, कहाँ गर्ने रहेछ ? क–कसको नेतृत्व र सहभागितामा बन्यो ? थाहा पाउन अति गा¥हो भयो । कसरी चित्त बुझाउँ भनिदिनु पर्‍यो सरकार !’ 


    सो मन्दिरको लागतकै विषयमा नगरपालिका र वडा कार्यालय बिचमा मतभेद छ । नगरपालिकाले मन्दिरको लागत ३० लाख बताइरहँदा जालपावासीले भने ३९ लाखमा सो मन्दिर बनेको बताइरहेको छ । ‘मन्दिर निर्माणको विषयमा वडा कार्यालयलाई जानकारी पनि छैन ।

    चित्त बुझ्दो काम पनि भएको छैन,’ वडाध्यक्ष राईले  भने, ‘निर्माण उपभोक्ता समिति गठन गरिएको छैन । कति लागतमा बन्नु पर्ने, कत्रो बन्नुपर्ने भन्ने विषयमा वडावासीलाई बेखबर राखिएको छ ।’ वडा कार्यालयलाई जानकारी नभएपनि नगरपालिकाको सिफारिसमा जालपामा मन्दिर बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए । 

    यस्तै, बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा पुरातत्व विभागमार्फत प्राप्त भएको ८४ लाखको लागतमा निर्माण सुरु गरिएको शंखेश्वर मन्दिरको काममा ढिलासुस्ती र गुणस्तरहिन काम भएको जनगुनासो छ ।

    गत असारमा सम्पन्न हुनुपर्ने मन्दिर निर्माणको काम अझै ५ प्रतिशत बाँकी रहेको बराहपोखरीका वडाध्यक्ष टंक मगरले बताए । शंखेश्वर मन्दिर निर्माणका क्रममा गुणस्तरहिन सामग्री प्रयोग गरिएको भन्दै आवाज उठेको थियो ।

    बराहपोखरी मन्दिर निर्माणको काम गुणस्तरहिन भएको र भ्रष्टाचार भएको भन्दै कांग्रेस क्षेत्र नम्बर २ का सभापति तीर्थराज भट्टराईले पनि २०७७ साल फागुन ४ गते जिल्ला प्रशासन कार्यालय समक्ष ध्यानाकर्षण पत्र बुझाउँदै छानविनको माग गरेका थिए । वडाध्यक्ष मगरले भने मन्दिरको ढोकाको विषयमा केही आवाज उठेपछि ढोका परिवर्तन गरिएको बताए । 

    यस्तै, खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भगवती मन्दिर नजिकै ५० लाखमा ठेक्का लागेको पाटीको काम गुणस्तरहिन भएको स्थानीयको गुनासो छ । पाटी निर्माणमा प्रयोग गरिएका इटाको गुणस्तरका विषयमा आवाज उठेको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।

    ‘पालिकासँग कुनै सम्झौता भएको छैन । बाहिरबाट हेर्दा काम राम्रो देखिन्छ तर पुरातत्व विभागको स्टीमेट कस्तो हो, त्यो थाहा छैन,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘तल्लो लेभलमा बिछ्याइएको इटा क्वालिटीको छ तर त्योभन्दा माथि लगाएको ईटा क्वालिटीको छैन भने कुरा उठेको छ ।’ खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँलले भने वडाले सिफारिस दिएको र ‘चित्त बुझ्दो’ काम भएको बताए । 

    दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा खमारेमा पुरातत्व विभागकै ५६ लाखमा जलेश्वर महादेव मन्दिर निर्माण गरिएको छ । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ खुतुम्बुमा १९ लाख ८० हजारमा सिंहदेवि देविस्थान गुप्तेश्वर महादेव मन्दिर निर्माण गरिएको छ । तर, दुवै मन्दिर गुणस्तरहिन बनेको आवाज उठिरहेको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

    इन्जिनियर पठाउँदा स्टीमेट अनुसार काम नभएको र तोकिएको इँटा नहालिएको पाइएको गाउँपालिका अध्यक्ष राईको भनाई छ । ‘मन्दिरको काम गुणस्तरहिन भएको छ । हामीले चेकजाँचमा इन्जिनियरकै टोली पठाएका थियौँ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘गुणस्तरहिन काम भएको विषयमा हामीले पुरातत्वलाई लिखित जानकारी गराइसकेका छौँ ।’ 

    पुरातत्वमार्फत प्राप्त भएको ८० लाखमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको मझुवागढीस्थित कालिका भगवती मन्दिर निर्माणाधिन अवस्थामै छ ।

    यस्तै, २० लाखको लागतमा जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित सावाखोला दोभानमा रहेको भानुमती मन्दिर निर्माण गरिएको छ । तर, भानुमती मन्दिर निर्माणका विषयमा स्वयं जन्तेढुंगा गाउँपालिका अध्यक्ष शंखरबहादुर राई बेखबर देखिएका छन् । ‘हामीलाई थाहा छैन ।

    कहाँबाट योजना ल्याउँछन्, खान्छन् पालिकासँग कुनै सझौता भाको छैन,’ अध्यक्ष राईले भने, ‘पहुँचमा योजना ल्याउने र योजना चलाएर अनियमितता गर्ने प्रवृत्ति मौलाएर गएको छ ।’ सो वडाका वडा सदस्य धनबहादुर राईले भने मन्दिर निर्माणका लागि वडाबाट सिफारिस दिएको बताउँछन् । 

    सूचना दिन पुरातत्वको आलटाल 


    खोटाङका विभिन्न स्थानमा मन्दिर निर्माणका क्रममा आवाज उठेपछि पुरातत्व विभागमा जानकारी माग गरिएको थियो । तर, हालसम्म पुरातत्व विभागले मन्दिर निर्माण सम्वन्धी जानकारी दिन आलटाल गरिरहेको छ ।

    खोटाङखबरका तर्फबाट भदौ १३ गते पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरलाई सम्बोधन गर्दै सूचनाको हक अन्तरगत सूचनाका लागि आवेदन दिइएको थियो । पछिल्लो समय प्रवक्ता कुवँरले खोटाङखबरकर्मीको फोन नै उठाउन छाडेका छन् ।

    प्रकाशित मिति :कार्तिक ७, २०७८ आइतवार - ११:१९:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको