खोटाङ । प्रदेश नम्बर १ को प्रदेश प्रमुख परशुराम खापुङले अर्गानिक कृषि र व्यवहारिक शिक्षाका माध्यमबाट अरव जाने नौजवानहरुलाई स्वदेशमै रोक्न सकिने बताएका छन् ।
शुक्रबार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन फाउण्डेसनले निर्माण गरेको शुभम ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन, कस्टम हायरिङ सेन्टर र होमस्टे उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले अर्गानिक कृषि र प्राक्टिकल शिक्षाको माध्यमबाट रोजगारी सिर्जना गर्न सके नौजवानहरु अरव जान बन्द हुने स्थिति आउने बताएका हुन् ।
शुभद्रा मदन फाउण्डेसनको बैकल्पिक शिक्षा अभियान देशको भविष्य, जनताको सुख, शान्ति र संमृद्धि मात्र नभएर रोजगारीसँग पनि गाँसिएको प्रदेश प्रमुख खापुङको भनाई थियो । ‘फाउण्डेसनको वैकल्पिक शिक्षाको अभ्यास देशको भविष्य, नेपाली जनताको सुख, शान्ति र संमृद्धि मात्र नभएर रोजगारीसँग गाँसिएको छ ।
यत्ती कुरा नेपालीले सिक्यौं भने जान्यौं भने नौजवानहरु अरव जान बन्द हुने स्थिति आउँछ । मलेसिया जानुपर्ने स्थिति बन्द हुन पुग्छ,’ खापुङले भने, ‘ग्लोवलाइजेसनको कारण मान्छे अमेरिका पुग्नु, अष्ट्रेलिया पुग्नु, लण्डन पुग्नु आफ्नो रुचीको विषय हुन सक्छ । तर हामीले प्रयास गर्यौं भने अहिलेको जस्तो बाध्यात्मक अवस्थाको अन्त्य हुन सक्छ ।’
प्रदेश प्रमुख खापुङले सोल्मामा शुभम ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन र होमस्टे उद्घाटन गरेका छन् । प्रदेश सरकारको सहयोगमा बनाइएको शुभम ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवनमा कस्टम हायरिङ सेन्टर समेत सञ्चालनमा ल्याइएको शुभद्रा मदन फाउण्डेसनका कार्यकारी निर्देशक सुर्य राईले बताए ।
शुभम ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन मध्यपहाडी लोकमार्गमा निर्माण गरिएको छ । सोही नजिक पुरानो घरलाई मर्मत गरेर होमस्टे सञ्चालनमा ल्याइएको हो । होमस्ेट र टेण्टमा कम्तीमा ५० जना पाहुनालाई बास राख्न सकिने फाउण्डेसनका संस्थापक कृषिविज्ञ मदन राईले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बवि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो ।