खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ । १ करोड ७६ लाख ५४ हजार ९२० रुपैयाँको खर्चमा तीन तले पक्की भवन बनाएको हो । आर्थिक वर्ष २०७५/०७६ देखि निर्माण सुरु गरिएको भवन सोमबार गाउँपालिका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हिराकुमारी वन (गिरी) ले रिवन काटेर उद्घाटन गरेका छन् ।
हालसम्म केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको तत्कालिन गाबिस र पृथ्वी माविको जिर्ण भवनलाई मर्मत गरेर सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले आफ्नै भवनबाट सेवा सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले बताए । बहुवर्षिय योजना अन्तरगत उपभोक्ता समितिमार्फत निर्माण गरिएको भवनमा एक वटा सभा हलसहित १३ वटा प्रशासनिक कोठाहरु छन् ।
सुविधा सम्पन्न प्रशासनिक भवनको शाखा, उपशाखाबाट सेवा दिन पाउँदा कर्मचारीमा उत्प्रेरणा बढेको छ । भवनको सुरुमै हेल्पडेस्क, वेटिङ रुम लगायतका संरचनाको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।
डिजिटल वडापत्र पनि राख्ने तयारी भइरहेको जनाइएको छ । प्रशासनिक भवन निर्माणका लागि गाउँपालिकाले २ करोड ९४ लाख ९३ हजार ८६३ रुपैयाँको डिपिआर तयार पारेको थियो ।