खोटाङ । खोटाङमा प्रसुती व्याथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलीकोप्टर सेवामार्फत उद्धार गरिएको छ । प्रसुती व्याथाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी ३० वर्षीय शान्ता विकलाई आइतबार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरि उद्धार गरिएको हो ।
प्रसुती व्याथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएकाले जिल्ला अस्पतालमा उपचार हुन नसकेको र थप जटिलता उत्पन्न भएकाले तत्काल सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने उल्लेख गर्दै जिल्ला अस्पतालले पठाएको पत्रको आधारमा जिल्ला प्रशासन कार्यालयको सिफारिसमा हेलीकोप्टर झिकाएर गर्भवतीको उद्धार गरिएको हो ।
यसअघि शल्यक्रिया गरेर बच्चालाई जन्म दिएको, यस पल्ट आठ महिनामै प्रसुती व्याथा सुरु भएको, अण्डासयमा पानीका फोकाहरु लगायतका खतरा देखिएकाले सुविधा सम्पन्न अस्पताल लैजान सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. बैभव मल्लिकले बताए । उद्धार गरिएकी शान्तालाई प्रसुती गृह थापाथली लगिएको छ ।
जिल्ला अस्पतालको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हेलिकोप्टर व्यवस्थाका लागि सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबारलाई पत्र पठाएको थियो ।
प्रशासनले पठाएको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले प्रसव बेदनाले छट्पटिरहेका महिलाको उद्धारका लागि हेलीकोप्टर पठाएको हो । अहिले उनकोर बच्चाका ेअवस्था सामान्य रहेको जनाइएको छ ।
स्वास्थ्य कार्यालयको पत्रको आधारमा प्रशासनको सिफारिसमा प्रसव व्याथाले समस्यामा परेका महिलाको उद्धार गर्ने गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट दर्जनौं गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिसकिएको छ ।