इटहरी । नेपाल प्रेस युनियन सुनसरीले पत्रकारहरुलाई पहिलो चरणको सहयोग कार्यक्रम सम्पन्न भएको छ । खाद्यान्न अभावमा रहेका सुनसरीका सक्रिय सञ्चारकर्मीहरुलाई खाद्यान्न सहयोग गरिएको फुड बैँकका संयोजक कृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार सुनसरीका विभिन्न क्षेत्रमा रहेर सञ्चारकर्म गर्दै आएका तर लकडाउनले गर्दा खाद्यान्न अभावमा रहेका पत्रकारहरुका लागी आवश्यक पर्ने खाद्यान्न सहयोग गरिएको हो ।
एक बोरा चामल, दुई किलो नुन, दुई किलो चिनी, दुई किलो दाल, दुई किलो न्यूटला लगायतका खाद्यान्न वितरण गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताएका छन् ।
उनका अनुसार खाद्यान्न अभावमा कोही पनि पत्रकार भोको बस्न नदिनका लागि प्रेस युनियनले फुड बैँकको स्थापना गरेको थियो । अभावमा नरहेका पत्रकारहरुबाट सहयोग उठाएर अभावमा रहेका पत्रकारहरुलाई खाद्यान्न दिईएको थियो । जिल्लाका ५३ जना सञ्चारकर्मीहरुलाई खाद्यान्न वितरण गरिएको प्रेस युनियन सुनसरीले बताएको छ ।