खोटाङ । काठ्माण्डौंबाट खोटाङ स्थानान्तरण गरिएको फेमिली केयर अस्पतालले नियमित सेवा सुरु गरेको छ । ग्रामिण क्षेत्रका सर्वसाधारणको स्वास्थ्यलाई लक्षित गर्दै शहरबाट गाउँमा सारिएको अस्पतालले दिक्तेलबजारबाट नियमित सेवा सुरु गरेको हो । गत चैतदेखि सेवा प्रवाह सुरु गरेको अस्पतालले कोभिड–१९ को महामारी न्यून हुँदैगएपछि नियमित सेवा प्रवाह सुरु गरेको हो ।
नाफाका लागि भन्दा पनि जिल्लावासीलाई आफ्नै गाउँठाउँमा इमरजेन्सी स्वास्थ्य सेवा उपलव्ध गराउनका लागि काठ्माण्डौं धुम्बाराहीबाट अस्पताललाई दिक्तेल स्थानान्तरण गरिएको अस्पताल सञ्चालक फेमिली हेल्थ केयर इन्टरनेशनल एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष डा. केके राईले बताए । ‘गम्भीर अवस्थाका विरामीलाई तुरुन्तै काठ्माण्डौं पु¥याउन ढिला हुन्छ ।
बिरामीको बाटैमा ज्यान जान सक्छ, जिल्लामा त्यो अवस्थाका बिरामीलाई तत्काल उपचार गर्ने अस्पतालको खाँचो छ,’ डा. राईले भने, ‘हामीले नाफाका लागि होईन, सेवा दिनका लागि जिल्लामा अस्पताल सारिएको हो । नाफाका लागि काठ्माण्डौंमा रहेको अस्पताल अन्यत्र सार्न आवश्यक थिएन ।’ खोटाङमा स्वास्थ्यमा जटिल किसिमका समस्या देखिए हेलीकोप्टर चार्टर गर्दै अन्यत्र जानुपर्ने अवस्था छ ।
कतिपय बिरामीको अस्पताल लैजानेक्रममा बाटैमा ज्यान जाने गरेको छ । भरपर्दो स्वास्थ्य सेवा लिन काठ्माण्डौं पुग्नुपर्ने बाध्यता अन्त्याका लागि अस्पताललाई दिक्तेलमा सारिएको हो । हार्टअट्याक, दम, कडा निमोनिया, एपेन्डिक्स, विभिन्न दुर्घट्ना, प्रसुती सम्वन्धी समस्याबाट गम्भीर बनेका बिरामीलाई छिटो र छरितो उपचार दिने व्यवस्थाका लागि फेमिली केयर अस्पताललाई गाउँमा स्थानान्तरण गरिएको डा. राईले बताए ।
५० शैयाको स्वीकृति पाएको अस्पतालमा हाल १५ शैयाको इमरजेन्सी वार्ड सञ्चालनमा ल्याइएको छ । हाल अस्पतालमा जनरल फिजिसियन (एमडिजिपी) दुई जना, सर्जन एक जना र डेण्टलका एक जना डाक्टरमार्फत इमरजेन्सी सेवा तथा हाडजोर्नी, प्रसुति, बाल रोग, दाँत लगायतका जनरल सेवा प्रवाह सुरु गरिएको फेमिली हेल्थ केयर इन्टरनेशनल एण्ड रिसर्च सेन्टरले जनाएको छ ।
२०७२ सालको भूकम्पले अस्पतालको भवनमा क्षती पु¥याएपछि वैकल्पिक स्थानको खोजी हुँदैगर्दा साथीभाईको सल्लाहमा अस्पताललाई जिल्लामा स्थानान्तरण गर्ने निर्णय गरिएको डा. राईले बताए ।
फेमिली केयर अस्पताल २०४८ सालमा स्थापना गरिएको हो । भविष्यमा प्रदेश नम्बर १ को पहाडी क्षेत्रभित्र नर्सिङ, अहेव, अनमी लगायतका विषय पढाउने मेडिकल कलेज स्थापनाको लक्ष्यकासाथ अस्पताललाई स्थानान्तरण गरिएको फेमिली हेल्थ केयर इन्टरनेशनल एण्ड रिसर्च सेन्टर प्रालिका सदस्य सचिव शुभचन्द्र राईले बताए ।
अस्पतालका लागि दिक्तेलकै मुढेमा करिब ५० रोपनी जग्गा जुटाइएको छ । निजी क्षेत्रबाट सञ्चालित फेमिली केयर अस्पताल जिल्लाकै दोश्रो हो । यसअघि २०७० सालमा जालपामा स्थानीयको पहलमा जनसेवा सामुदायीक अस्पताल स्थापना गरिएको थियो ।