• ट्रेण्डिङ:

वडाध्यक्ष श्रेष्ठको निधन

वडाध्यक्ष श्रेष्ठको निधन

रोदिक खबर

१३, पौष २०७८
  • 2.5K
    SHARES
  • वडाध्यक्ष श्रेष्ठको निधन

    खोटाङ। खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । ६ असार २०१५ मा जन्मिएका वडाध्यक्ष श्रेष्ठको सोमबार राती १२.०५ बजे ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । वडाध्यक्ष श्रेष्ठ गत माघदेखि मुटुको समस्याबाट पीडित थिए । सिकिस्त अवस्थामा गत २८ माघमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी लगिएका श्रेष्ठ मुटुको भल्व फेरेपछि नियमित औषधि सेवन गर्दैआएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र बिष्टले बताए ।

    स्वास्थ्यमा सुधार भएपछि घर आउने र समस्या आए अस्पताल जानेआउने गर्नुभएका श्रेष्ठलाई जटिल समस्या आएपछि गत साउनमा हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं पुर्‍याइएको थियो ।

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसकातर्फबाट वडाध्यक्ष निर्वाचित भएका श्रेष्ठ अस्पताल लगिएपछि गत २८ माघदेखि वडासदस्य धनबहादुर राईले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । श्रेष्ठका श्रीमती, तीन छोरा, दुई बुहारी र दुई नातीनातिना छन् । उनी सो क्षेत्रमा राजनैतिक अगुवाका रुपमा चिनिन्छन् ।

    ३२ सालमा एसएलसि उत्तिर्ण गरेका श्रेष्ठ २०३८ सालदेखि कांग्रेसको राजनीतिमा लागेका थिए । २०४९ सालमा तत्कालिन चिसापानी गाबिस अध्यक्ष निर्वाचित श्रेष्ठ २०५७ सालमा कांग्रेस क्षेत्रीय सभापति, २०६२ सालमा मनोनीत जिल्ला सदस्य, २०६७ सालको जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला सदस्य र २०७२ मा महाधिबेसन प्रतिनिधि बनेका थिए ।

    यसपल्ट भने स्वास्थ्यका कारण क्षेत्रीय प्रतिनिधि मात्र बनाइएका थिए । उनले पटक–पटक चिसापानी माबि र प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए ।

    श्रेष्ठको निधनमा कांग्रेसले तीन दिनसम्म शोक मनाउँदै औपचारिक कार्यक्रम स्थगन गर्ने, एक दिन पार्टी कार्यालय बन्द गर्ने र कांग्रेसको झण्डा झुकाउने निर्णय गरेको जनाएको छ । यस्तै, वडाध्यक्ष श्रेष्ठको निधनमा गाउँपालिकामा मंगलबार शोक विदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पवन पोखरेलले बताए ।

    प्रकाशित मिति :पौष १३, २०७८ मंगलवार - २०:३५:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको