खोटाङ । माघे संक्रान्तिमा खानका लागि खोटाङका स्थानीय बन तरुल खन्न व्यास्त बनेका छन् । माघे संक्रान्तीका दिन खानकालागि स्थानीय बन तरुल खन्न जंगलमा पुगेका छन् । बन तरुल निकाल्न स्थानीयले कुटो, कोदालो र झम्पाल सहित नजिकका जंगल चाहार्ने गरेका छन् ।
माघे संक्रान्तीमा घर तरुल, सखरखण्ड, इस्कुसको जरा, घिउ, चाकु लगायतका परिकार खाने प्रचलन भएपनि स्थानीयले बन तरुललाई बिशेष महत्वका साथ लिने गरेको पाईन्छ । माघे संक्रान्तीका दिन ‘एक टुक्रा भए पनि बन तरुल खानुपर्छ’ भन्ने मान्यता रहिआएको छ । कतिपयले आफै खानका लागि बन तरुल निकाल्ने गरेका छन् भने कतिपयले बिक्रीका लागि खन्ने गरेका छन् ।
कुनै–कुनै घना जंगलमा पाईने बन तरुल निकाल्न निकै मेहनत गर्नुपर्ने हुन्छ । बन तरुलको फल जमिनको सतहबाट दुई÷तीन मिटरमुनि भेटिने भएकाले गहिरो खाडल खन्नुपर्ने हुन्छ । दुई/तीन दिनअघिदेखि माघे संक्रान्तीको दिनसम्मै बन तरुल खन्ने गरिन्छ । बन तरुल खन्नकालागि हुलका हुल स्थानीय जंगलमा पुग्ने गरेका हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका रहरमान राईले बताए ।
निकै मेहनतकासाथ निकालिएको बन तरुल बिक्रीकालागि बजारमा समेत ल्याउने गरिएको छ । कतिपयले माघे संक्रान्तीभन्दा हप्ता दिनअघि देखि नै कन्दमुल खरिद गरेर राख्ने गरेका छन् । कन्दमुलमध्ये बन तरुलको मूल्य महंगो पर्छ ।