खोटाङ। जवरजस्ती करणी गरेको कसुरमा खोटाङमा दुई जना पक्राउ परेका छन् । १६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रकाश हिङमाङ र ४० वर्षकी महिलालाई जबरजस्ती करणी गरेको कसुरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राईलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रतिवादी हिङमाङले गत २५ पुस साँझमा छिमेकीको घरमा पितृ कार्य (श्राद्ध)को निम्तो मानेर एक्लै घर फर्कँदै गरेको मौका छोपेर डर र धाकधम्की देखाएर बालिकामाथि जवरजस्ती गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाको आफन्तले ४ माघमा किटानी जाहेरी दिएपछि लुकिछिपी बसिरहेको अवस्थामा हिङमाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक सागर साहले बताए ।
प्रतिवादी राई विरुद्ध घरमा कोही नभएको मौका पारेर महिलामाथि ३० पुस बिहान ११ बजेको समयमा बलात्कार गरेको अभियोग छ । महिलामाथि जवरजस्ती बलात्कार गरेको फोनमार्फत जानकारी प्रहरीचौकी तालखर्कमा आएपछि खटिएको प्रहरीको टोलीले राईलाई पक्राउ गरेको हो । जवरजस्ती करणीका दुबै अभियुक्त विरुद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जारी गरेको प्रेस–विज्ञाप्तीमा उल्लेख छ ।