७ महिनादेखि अलपत्र परेको स्वास्थ्यचौकी दोर्पाचिउरीडाँडाको भवन ।
खोटाङ । खोटाङमा पाँच स्वास्थ्यचौकीको भवन निर्माणको काम ७ महिनादेखि अलपत्र परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे र ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलस्थित स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र परेको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) बबरमहल, काठमाडौँबाट टेण्डर भएर जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ओखलढुंगामार्फत सुरु गरिएको पाँच स्वास्थ्यचौकीको भवन गत साउनदेखि ठप्प बनेको सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर विनोदकुमार मण्डलले बताए ।
भ्याट सहित ७ करोड ४० लाख, ८४ हजार २९६ रुपैयाँमा पुरा गर्नेगरी गौरी पार्वती–न्यू टेक्नीकल जेभी, ललितपुरले स्वास्थ्यचौकीको डेढ तले भवन निर्माणको ठेक्का लिएको थियो । आगामी ८ चैतसम्ममा भवनको काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीले गत १० मंसिर २०७७ मा ठेक्का सम्झौता गरेको थियो ।
हालसम्म स्वास्थ्यचौकी दोर्पाचिउरीडाँडा, मंगलटार, बतासे र राखाबांदेल स्वास्थ्यचौकी भवनको स्ट्रक्चरको काम सकिए पनि बाहुनीडाँडा स्वास्थ्यचौकीको काम अझै सुरु नभएको जनाइएको छ । मूख्या ठेकेदारले दोश्रो ठेकेदार र दोश्रोले तेश्रो ठेकेदारलाई भवनको काम छाडेकाले भवनको काम अलपत्र परेको कार्यालयले जनाएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना अन्तरगत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ओखलढुंगामार्फत अघि बढेको स्वास्थ्यचौकीको भवन निर्माणको जिम्मेवारी हाल सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगालाई सरेको छ । गत १ असोजदेखि पुनर्निर्माण प्राधिकरण अन्तरगतको भवनको जिम्मेवारी सघन शहरी विकास तथा भवन निर्माण आयोजनामा सरेपछि स्वास्थ्यचौकी भवन निर्माणको काममा अप्ठ्यारो आइपरेको निर्माण कम्पनीको दावी छ ।