खोटाङ । खोटाङ घर भइ हाल मध्यपुर ठिमी बस्दैआएका आमा छोराको चार दिनको अन्तरमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बजार घर भइ हाल मध्यपुर ठिमी नगरपालिका–७ निवासी ६२ वर्षीय आमा र ४१ वर्षका छोराको चार दिनको अन्तरमा मृत्यु भएको हो ।
श्वासप्रस्वासमा समस्या आएपछि पाटन अस्पतालमा भर्ना गरिएका आमाको भदौ १३ गते र छोराको मंगलबार राती मृत्यु भएको आफन्तले बताएका छन् ।
आफन्तका अनुसार आमाले दम तथा छोराले उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए । कोरोना संक्रमणबाट आमाछोराको मृत्यु भएपछि ऐसेलुखर्कमा रहेका राजभण्डारी समुदाय शोकमा डुबेको स्थानीय टेकेन्द्र राजभण्डारीले बताए ।
मृतक छोराका वृद्ध बाबु, गर्भवती श्रीमती, बहिनी, छोरा, छोरी लगायत घरका अन्य सदस्यलाई पनि कोरोना संक्रमण भएको बताइएको छ ।
ऐसेलुखर्क घर भइ हाल मध्यपुर ठिमी नगरपालिका बसिरहेका आमाछोराको मृत्यु भएपछि ऐसेलुखर्क गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । ‘कोरोना भाइरसबाट आफु बचौं र अरुलाई पनि बचाऔं’ भन्ने नारालाई मध्यनजर गर्दै गाउँपालिकाले १५ दिनका लागि अत्यावश्यक बाहेकका काम बन्द गरेको हो ।
संक्रमित परिवारसँग सम्पर्कमा पुगेका स्थानीयमार्फत संक्रमण भित्रिने त्रास बढेकाले भदौ १५ गतेदेखि भदौ ३० गतेसम्मका लागि अत्यावश्यक/विशेष परिस्थिति बाहेक सबै कार्यालय, व्यापार÷व्यवसाय, बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।
यस्तै, १५ दिनका लागि ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्कबाट चल्ने सम्पूर्ण सवारी साधन आवत–जावतमा रोक लगाइएको छ ।
गाउँपालिकाबाट सम्झौता भएर सञ्चालन भइरहेका आयोजनाको लागि स्वीकृति लिएर निर्माण सामग्री ढुवानी गर्नुपर्ने र भदौ १८ गतेसम्ममा खाद्यान्न खरिद र बैंक तथा बित्तीय संस्थाबाट सामाजिक दुरी कायम गर्दै अतिआवश्यक काम गर्न÷गराउन सकिने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।