विश्वको ध्यान खिच्न सफल प्रसिद्ध ‘हलेसी गुफा’ पूर्वी नेपालको खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित छ । किरात, बौद्ध तथा हिन्दु धर्मको संगमस्थल मानिने यस हलेसीधाम करिव २६ रोपनी क्षेत्रफलमा फैलिएको छ । हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाईमा रहेको छ ।
पृथ्बीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा पहिले यस भूमिमा किराती राजा ‘होलैसुङ’ ले शासन गरेका थिए । पछिल्लो समयमा सोही ‘होलैसुङ’ शब्द अपभ्रंश भई ‘हलेसी’ नाम रहन गएको किंवदन्ती छ । समयको विकासक्रमसंगै यस ठाउँ विश्वभरी ‘हलेसीधाम’ को नामले प्रसिद्ध छ । मनोरम प्रकृतिको छटाले भरिपूर्ण एबं विभिन्न अनौठा र आकर्षक प्राकृतिक चट्टान (शिला) का आकृतिहरुले झकीझकाउ हलेसीधाममा विशेषतः शिव गुफा, बसाहा गुफा र भैरव गुफासहित तीन वटा महत्वपूर्ण गुफाहरु रहेका छन् । यस्ता अनौठा–अनौठा प्राकृतिक चट्टानले बनेको आकर्षक दृश्यले हलेसीमा घुम्न आउने जो कोहीको मन लोभ्याईरहेको छ ।
हलेसीमा हेर्न लायक के–के छन् ?
खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा बाक्लो जंगलले ढाकिएको एउटा थुम्को (डाँडा) रहेको छ । सोही डाँडाको टाकुरामा आकाशतिर फर्केको एउटा ठूलो चट्टानको गुफा छ । त्यही गुफालाई महादेव÷शिव गुफा भनिन्छ । यस खाल्डो आकारको गुफाभित्र प्रवेश गरी करिव तीनसय फिट मुनी ओर्लेपछि केही समथर ठाउँमा पुगिन्छ, जहाँ हजार जनाभन्दा बढि मानिस अटाउन सकिन्छ ।
गुफाभित्रको मन्द उज्यालो र समथर ठाउँमा महादेव (शिव) र गणेशको प्राकृतिक मूर्ति एकैसाथ अवस्थित छ । त्यहाँबाट दक्षिणतर्फको भित्तामा पार्वतीस्थान छ । सो स्थानमा पार्वतीले गणेशजीलाई कोक्रोजस्तो देखिने शिलामा दुध ल्याइरहेको आकृति छ, जुन ठाउँमा निसन्तान मानिसले सन्तान माग्ने प्रचलन छ ।
गुफाभित्रको उत्तरी कुनामा धर्मद्धार, पापद्धार रहको छ । त्यस द्धारबाट धर्मात्मा मानिस छिर्न सक्ने र अधर्मीहरु छिर्न नसक्ने किंवदन्ती रहिआएको छ । यस बाहेक जन्मद्धार, स्वर्गद्धार, कर्मद्धार, तेत्तिसकोटी देवताका प्रतिमूर्तिलगायतका बिशेष महत्वका ढंगाका प्राकृतिक मूर्तिहरु समेत यसै महादेव गुफाभित्र देख्न सकिन्छ ।
महादेव गुफादेखि करिब सय मिटर पश्चिमतिर बसाहा गुफा रहेको छ । यो गुफा करिब दुई सय २० फिट लामो र ५० फिट चौडा भएर फैलिएको छ । एकै पटकमा सयौं जना मानिस सजिलै भित्र–बाहिर गर्न सकिने यस गुफाबाट करिव २ सय १० फिट भित्र प्रवेश गरेपछि खुल्ला, उज्यालो आँगनमा पुगिन्छ ।
त्यहाँ चट्टानको प्वालबाट खुल्ला आकाश देख्न सकिन्छ । त्यस ठाउँको पश्चिमी कुनाबाट हात थापेर महादेवसंग दुध माग्ने प्रचलन छ । दुध माग्दा भाग्यमानीको हातमा दुध र अभागीको हातमा पानी झर्ने विश्वास गरिन्छ । त्यस्तैगरी सोही ठाउँदेखि उत्तरी दायाँ कुनामा हात्तीको सुँडमा गणेशको मूर्ति पनि अवस्थित छ ।
यस बसाहा गुफामा नन्दी भृंगीको मूर्ति, गौरीशंकर, गोमन सापलगायतका प्राकृतिक मूर्तिहरु समेत छन् । त्यस्तैगरी महादेव गुफादेखि करिब ३० मिटर पूर्वपट्टि आकर्षक भैरव गुफा अवस्थित छ । यस गुफाको पनि आफ्नै महत्व र विशेषता छ । महादेवलाई बृषासुर/भष्मासुर/बकासुर राक्षशबाट बचाउन पार्वतीको रुप धारण गरी भगवान विष्णु कैलाशबाट यस ठाउँमा आएर उक्त राक्षशलाई झुक्याएर भष्म गरिदिएका थिए । जुन अवशेषहरु त्यस भैरब गुफामा रहेको विश्वास गरिन्छ । त्यसैले यस गुफालाई भष्मासुर गुफा पनि भनिन्छ ।
त्रिधार्मिकस्थल ‘हलेसीधाम’ :
किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको त्रिगमस्थल ‘हलेसीधाम’ नेपालको थुप्रै तीर्थस्थल एबं पर्यटकीय स्थलहरुमध्ये एक प्रमुख स्थल हो । प्राग–ऐतिहासिक कालमा किरातीहरुका पूर्खा (पूर्वज) खोक्चिलीप्पा/रैछाकुले/हेच्छाकुप्पा यस हलेसी गुफामा बसेको किंवदन्ती छ ।
खोक्चिलीप्पा सानै हुँदा उनका दिदीहरु तायामा र खियामा हराए । पछि, उनी आफु केही सामथ्र्यवान र बुझ्ने भएपछि हराएका चेलीहरुको खोजी गर्न वापा (भाले कुखुरा) लाई पठाउँछ, उता तायामा र खियामा भने तुवाचुङ/जायजुममा कपासको खेती गरेर तान बुन्दै बसिरहेका थिए । यसरी भालेको सहायताले दुबै चेलीहरु भाई खोक्चिलिप्पाको घर हलेसी गुफा पुगेको किंवदन्ती छ ।
धेरै समयपछिको त्यस ऐतिहासिक भेटघाटको खुसीयालीमा माइतीचेली मिलेर धुमधामसंग मुन्धुम गाउँदै, ढोलझ्यम्टा बजाउँदै साकेला शिली नाचे । त्यसैबेलादेखि किरातीहरुले यस भूमिलाई आफ्नो पितृका रुपमा पुज्दै आएका छन् । यहाँ बर्षेनी किरातीको महान चाड उभौली–उधौलीको अवसरमा खोटाङ, भोजपुर, उदयपुर, ओखलढुङगा, सोलुखम्बुलगायतका किराती भेला भइ आफ्नो पितृलाई पुज्ने गर्दछन् । पितृलाई अक्षता, अदुवा, वासिम (जाँड), आराखा (रक्सि) चढाएर मुन्धुम गाउँदै ढोलझ्याम्टा बजाएर साकेला सिली नाच्दै पूजा गर्ने गर्दछन् ।
अर्कातिर हिन्दु धार्मिक किंवदन्तीअनुशार सत्ययुगमा महादेब भाङ–धतुराले मातेर अर्धचेत भएको अवस्थामा बृषासुर÷भष्मासुर÷बुकासुर नाम गरेको राक्षशले ‘मैले जसको टाउकोमा हात राख्छु, त्यो जलेर भष्म होस्’ भन्ने बरदान मागे । मातेर लठ्ठ परेका महादेवले पनि विचारै नगरी ‘तथास्तु’ बरदान दिए । तर, बरदान पाएपछि बुकासुरले महादेबकै टाउकामा हात राख्न तयार भए । भष्म हुने डरले महादेब पनि ज्यान जोगाउन भाग्न थाले । भाग्दा–भाग्दा संसार घुमे तर बुकासुरले महादेवलाई खेद्न छाडेनन् । अन्तमा भाग्दै जाँदा हलेसीको यस डाँडालाई फोडेर चट्टानभित्र प्रबेश गरे र त्यही अलप भए । उसबेलादेखि नै यहाँ महादेवको बास रहेको विश्वास गरिन्छ ।
त्यस्तै बोद्धधर्मअनुशार यस भूमीमा सयौं बर्ष पहिले महान बौद्धगुरु पद्यमसम्भवले बर्षौँ तपस्य गरी बुद्धत्व प्राप्त गरेको पवित्र भूमि हो भन्ने किंवदन्ती छ । तसर्थ, त्रिधार्मिक महत्वका धरोहर हलेसी कसैको लागि नौलो नाम हैन । यहाँ बर्षेनी विश्वका किरात, बौद्ध तथा हिन्दुधर्मावलम्बीहरु लाखौंको संख्यामा भित्रिने गरेका छन् । विश्व अहिले धार्मिक द्वन्द्वमा फस्न लागिरहेको बेला विश्वले यहीबाट धार्मिक सहिष्णुताको पाठ सिक्नु जरुरी छ, जहाँ किरात, बौद्ध, हिन्दु सबैले एकै थलोमा एकैसाथ पूजाआजा गर्दै आइरहेका छन् ।
किरात धर्मगुरु फाल्गुनन्द, बौद्ध धर्मगुरु टुकुपेमा वाङगेल रिम्पोछे साथै हिन्दुधर्म गुरु शंकराचार्य समेतको आगमन भइसकेको यस पवित्र मन्दीरमा बि.सं. २०४४ सलाताका तात्किालिन भुटानी राजा जिग्मेसिग्मे वाङचुग समेतको आगमन भइसकेको छ । धार्मिक, साँस्कृतिक, प्राकृतिक तथा पुरातात्विक दृष्टिले महत्वपूर्ण विश्वप्रसिद्ध तीर्थस्थल हलेसीको दर्शन गर्नाले दुःखबाट मुक्ती मिल्ने, आपत बिपतमा बचाउने, सन्तान नहुनेलाई सन्तान लाभ हुने, खडेरी, बाढीपहिरो, रोगव्याधीबाट बचाउने विश्वास रहिआएको छ ।
मनोकांक्षा पूरा हुने तथा आफन्तको मृतात्माले मूक्ति पाउने विश्वासमा रात भर जाग्राम बसी सतबीज (सय थरीका बीउबीजन) छर्ने चलन पनि विधमान छ । यहाँ बर्षेनी रामनवमी, महाशिवरात्री, बालाचतुर्दशी, तीज, हरिबोधनी एकादशी, उभौली–उधौलीलगायतका अवशरमा हप्तौं दिनसम्म मेला लाग्ने गर्दछ भने अन्य समयमा पनि भक्तजनहरुको उत्तिकै भीड लाग्ने गरेको छ । जुनबेला यहाँ पूजाआजा, जप–तप, दान–धर्म, तिर्थब्रतकालागि देशी–विदेशी तिर्थालु भक्तजनहरुको घुईँचो लाग्ने गरेको छ । जीवनमा एक पटक हलेसी पुगेरै छाड्ने प्रतिज्ञा गर्नेहरु पनि प्रशस्त भेटिन्छन् ।
हलेसी कसरी पुग्न सकिन्छ ?
चारैतिरबाट सडकले जोडिएपछि हलेसीमा पर्यटकहरुको भीड लाग्न थालेको छ । अहिले जुनसूकै ठाउँबाट पनि सार्वजनिक वा आफ्नै सवारीसाधन मार्फत सिधै हलेसी जान र आउन सकिन्छ । पूर्वको पशुपतिनाथको नामले परिचित हलेसी मन्दिर स्थानीय सरकार आएसँगै हलेसीको भौतिक पूर्वाधारको विकासले गति लिएको छ भने प्रचार प्रसार एवम् संरक्षण संवद्र्धनमा सहयोग पुगेको छ । विश्वप्रसिद्ध धार्मिक एबं पर्यटकीय स्थल हलेसीको प्रचार प्रसारमा अझै व्यवपकता दिन सके हलेसी मुलुककै पर्यटकीयस्थल बन्नेमा दुई मत छैन ।
