खोटाङ । शिक्षकलाई प्रविधिमैत्री बनाउन खोटाङको दिक्तेलमा एक महिने आधारभूत कम्प्युटर तालिम दिइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा हिमालय आइ.टि.ईन्स्टिच्यूट दिक्तेलले नगरका ३२ वटा सामुदायिक विद्यालयका ३२ जना शिक्षक/शिक्षिकाहरुलाई कम्प्युटर तालिम दिएको हो ।
आधुनिक सूचना प्रविधिको युगमा शिक्षकलाई कितावी ज्ञान मात्र नभई नयाँ प्रविधिका क्षेत्रमा शिक्षकहरुको कार्य दक्षतामा वृद्धि गरिनुपर्ने लक्ष्यका साथ कम्प्युटर तालिम दिएको ईन्स्टिच्यूटका सञ्चालक अर्जुन केसीले जानकारी दिए ।
शिक्षकमा विषयवस्तु र शिक्षण कलाले मात्र नभएर प्राविधिक ज्ञान पनि अत्यावश्यक रहने भएकाले प्रविधिमैत्री शैक्षिक वातावरण सिर्जनाका लागि शिक्षक शिक्षिकाहरु दक्ष हुनुपर्ने बोध गरेर कम्प्युटर तालिम प्रदान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए । आधुनिक समयसापेक्ष अध्यापनलाई सूचना र प्रविधिसँग जोड्न यस तालिमले एउटा इँटा थपेको बताउदै नगरप्रमुख रिजालले शिक्षाका क्षेत्रमा आवश्यक सहयोग गर्न नगरपालिका सधैँ तयार रहेको बताए ।

नगरप्रमुख रिजालको प्रमुख आतिथ्य तथा हिमालय आइ.टि. ईन्स्टिच्यूट दिक्तेलका सञ्चालक अजय बस्नेतको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, तालिम प्रशिक्षक रुपेश बजिमय लगायतको उपस्थिति रहेको थियोे ।