खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले इलाका प्रशासन कार्यालय स्थापनाको माग गरेको छ । जिल्लाका १० स्थानीय तहमध्ये भौगोलिक रुपमा सबैभन्दा ठूलो भएको, छरिएर रहेका वस्तीबाट जिल्ला प्रशासन कार्यालय करिब ८० किलोमिटर टाढा रहेको, पुर्वको पशुपतिनाथ मानिने हलेसी रहेको लगायतका कारण देखाउँदै नगरपालिकाले इलाका प्रशासन कार्यालय स्थापनका लागि अग्रसरता देखाएको हो ।
हालसम्म इलाका प्रशासन कार्यालय खोटाङबजार र इलाका प्रशासन कार्यालय ऐसेलुखर्क रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिकाले इलाका प्रशासन कार्यालय स्थापनाको लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयलाई लिखित निवेदन गरेको जनाएको छ ।
धार्मिक तथा साँस्कृतिक हिसावले देशकै महत्वपूर्ण स्थलका रुपमा विकास भएको हलेसीमा बढ्दो जनसंख्या तथा सहरीकरणसँगै रणनीतिक हिसावले समेत इलाका प्रशासन कार्यालय आवश्यक परेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।
हाल सेवा प्रवाहमा सहज पहुँच नभएकाले संघीयताको मर्म र भावना अनुसार एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीति अनुसार नगरपालिका क्षेत्रभित्र रहने गरी इलाका प्रशासन कार्यालय स्थापनाको माग गरिएको निवेदनमा उल्लेख छ ।
हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार, बडहरे, मंगलटार, धितुङ लगायतका वडा दिक्तेलबाट भौगोलिक रुपमा टाटा भएकाले जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन असहज भइरहेको नगरपालिकाले जनाएको छ । त्रिधार्मिकस्थल हलेसीमा दैनिक स्वदेश तथा विदेशका दर्शनार्थी तथा पर्यटकको बाक्लो आवागमन हुने भएकाले पनि नगरपालिकामा इलाका प्रशासन कार्यालय आवश्यक ठानिएको नगरप्रमुख राईले बताए ।
‘नगरपालिका भौगोलिक रुपमा पनि ठूलो छ । भौगोलिक विकटता छ । यहाँबाट जिल्ला प्रशासन कार्यालय पुगेर सेवा लिन असहज छ,’ नगरप्रमुख राईले भने, ‘नागरिकलाई गाउँ–गाउँबाट सेवा दिने संघीयताको मर्म र भावना अनुसार नगरपालिकामा इलाका प्रशासन कार्यालय आवश्यक छ । यसका लागि ११ फाुगनमा प्रशासनलाई पत्र लेखेका छौँ ।’