• ट्रेण्डिङ:

खोटाङका ५२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने  

खोटाङका ५२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने  

रोदिक खबर

२१, चैत्र २०७८
  • 5.7K
    SHARES
  • खोटाङका ५२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने  

    खोटाङ, २१ चैत । टाइफाइड रोग विरुद्धको खोप अभियानका क्रममा खोटाङका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार बढी बालबालिकालाई खोप दिने तयारी गरिएको छ ।

    आगामी २९ चैतदेखि  ४ बैशाखसम्म सञ्चालन गरिने अभियानका क्रममा १० स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार ८४० बालबालिकालाई टाइफाइड रोग विरुद्ध टाइफाइड कन्जुगेट भ्याक्सिन (टिसिभि) खोप दिने तयारी गरिएको हो ।

    टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवात सम्वन्धी सोमबार आयोजित जिल्ला खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा १५ महिनादेखि २३ महिनासम्मका २ हजार ९८९ जना, ५ वर्षदेखि १५ वर्षसम्मका विद्यालयमा रहेका ४३ हजार ५५१ जना, २ वर्षदेखि ४ वर्ष तथा विद्यालय बाहिर रहेका ६ हजार ३०० जना बालबालिकालाई खोप दिने तयारी गरिएको जानकारी दिइएको छ । 

    टाइफाइड रोगको संक्रमण तथा यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कार्यक्रम अन्तरगत जिल्लामा खोप अभियान सञ्चालन गर्न लागिएको हो । टाइफाइड रोग विरुद्धको खोप अभियान सञ्चालनका लागि जिल्लामा ७११ खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए । खोप अभियानका क्रममा १ हजार ४४२ स्वयंसेवक तथा ७२७ खोप कार्यकर्ता परिचालित हुने छन् ।

    यस्तै, खोप पश्चात हुनसक्ने अवाञ्छित घटना व्यवस्थापनका लागि १० जनाको टिम तयार पारिएको छ । खोप अभियानका लागि २२ चैतदेखि २७ चैतसम्म भ्याक्सिन तथा खोप ढुवानी गरिने प्रमुख सिग्देलले बताए ।

    यस्तै, १९ चैतदेखि ४ बैशाखसम्म पर्चा, पम्प्लेट र पोष्टर वितरण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । टाइफाइड विरुद्धको खोप अभियान सफल बनाउनका लागि राजनैतिक दल र स्थानीय तहका जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुने जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङले बताए । 

    aa.jpg

    अभियानका क्रममा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप प्रदान गर्ने र अभियान सकिएपछि नियमित खोप कार्यक्रममा टाइफाइड विरुद्धको खोप समावेस गरी १५ महिनाको उमेरमा एक मात्रा खोप निरन्तर उपलव्ध गराउने नेपाल सरकारको तयारी छ । कार्यक्रममा राजनैतिक दल, प्रशासन, सुरक्षा निकाय, पत्रकार लगायतको सहभागीता रहेको थियो । 

    प्रकाशित मिति :चैत्र २१, २०७८ सोमवार - १७:४५:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको