• ट्रेण्डिङ:

वालवालिकाका लागि टाइफाइड विरुद्धको खोप अभियान सुरु

वालवालिकाका लागि टाइफाइड विरुद्धको खोप अभियान सुरु

रोदिक खबर

२९, चैत्र २०७८
  • 4.4K
    SHARES
  • वालवालिकाका लागि टाइफाइड विरुद्धको खोप  अभियान  सुरु

    खोटाङ, २९ चैत । खोटाङका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार बढी बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप दिनेगरी अभियान थालिएको छ । मंगलबारदेखि आगामी ४ बैसाखसम्म सञ्चालन गरिने अभियानका क्रममा १० स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार ८४० बालबालिकालाई टाइफाइड रोग विरुद्ध टाइफाइड कन्जुगेट भ्याक्सिन (टिसिभि) खोप दिनेगरी अभियान सुरु गरिएको हो ।

    मंगलबार दिक्तेलको माउण्ट एभरेष्ट बोर्डिङ स्कुल खोप केन्द्रमा सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रताप शाहले स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गर्दै खोप अभियान सुरु गरिएको हो ।

    k.jpg

    १५ महिनादेखि २३ महिनासम्मका २ हजार ९८९ जना, ५ वर्षदेखि १५ वर्षसम्मका विद्यालयमा रहेका ४३ हजार ५५१ जना, २ वर्षदेखि ४ वर्ष तथा विद्यालय बाहिर रहेका ६ हजार ३०० जना बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

    टाइफाइड रोगको संक्रमण तथा यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कार्यक्रम अन्तरगत जिल्लामा खोप अभियान थालिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।

    टाइफाइड रोग विरुद्धको खोप अभियान सञ्चालनका लागि जिल्लामा ७११ खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियानका क्रममा १ हजार ४४२ स्वयंसेवक तथा ७२७ खोप कार्यकर्ता परिचालन गरिएको छ । यस्तै, खोप पश्चात हुनसक्ने अवाञ्छित घटना व्यवस्थापनका लागि १० जनाको टिम तयार पारिएको छ ।

    अभियानका क्रममा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप प्रदान गर्ने र अभियान सकिएपछि नियमित खोप कार्यक्रममा टाइफाइड विरुद्धको खोप समावेस गरी १५ महिनाको उमेरमा एक मात्रा खोप निरन्तर उपलव्ध गराउने नेपाल सरकारको तयारी छ ।

    प्रकाशित मिति :चैत्र २९, २०७८ मंगलवार - २२:०२:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको