खोटाङ । खोटाङमा आसन्न स्थानीय तहको निर्वाचनका समयमा सञ्चार माध्यम तथा पत्रकारको अनुगमनका लागि समिति बनाइएको छ । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका बेला जिल्लाका सञ्चार माध्यम तथा पत्रकारले सम्प्रेषण गर्ने समाचार सामग्री अनुगमनका लागि नेपाल पत्रकार महासंघको पहलमा तीन सदस्यीय अनुगमन समिति बनाइएको हो ।
पेशागत संगठनका प्रमुख तथा अग्रज पत्रकारको उपस्थितिमा आइतबार भएको महासंघको बैठकले बरिष्ठ पत्रकार कृष्ण आचार्य, महासंघका पूर्वअध्यक्षद्वय डम्वरसिं राई र दमन राई रहेको अनुगमन समिति गठन गरेको हो । निर्वाचनका समयमा सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्दै मर्यादित पत्रकारिताका लागि अनुगमन समिति गठन गरिएको नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दिलीप खत्रीले वताए ।
समितिलाई निर्वाचनका समयमा पत्रकार आचार संहिताको पालना भए÷नभएको, पत्रकार आचार संहिता तथा निर्वाचन आचार संहिता उल्लंघन भए÷नभएको, सत्य, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गरे÷नगरेको विषयमा अनुगमन गर्ने जिम्मेवारी दिइएको छ । निर्वाचनका समयमा कतिपय पत्रकारले अमुक पार्टीको पक्षमा समाचार सम्प्रेषण गर्ने तर अन्य पार्टीका विरुद्ध खेदो गरेर समाचार प्रस्तुत गर्ने गरेको घट्नालाई स्मरण गर्दै महासंघले त्यसलाई रोक्न अनुगमन समिति गठन गरेको जनाएको छ ।
यस्तै, महासंघले सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपका स्टाटस नलेख्न पत्रकारलाई सचेत गराएको छ । पछिल्लो समय केही पत्रकारबीच सामाजिक सञ्जालका माध्यमबाट एकअर्का जिरुद्ध अफवाह फैलाउँदै द्वन्द्व सिर्जना गरिएको भन्दै महासंघले सामाजिक सञ्जाल प्रयोगमा जिम्मेवार र जवाफदेही बन्न पत्रकारलाई सचेत गराउने निर्णय गरेको हो ।