शुक्रवार, भाद्र २६ गते २०८३

मनोनयन दर्ता सुरु, मनोनयनको पहिलो दिन साना दल सक्रिय, ठूला दलले उम्मेद्वारी दर्ता गराउन सकेनन् 

मनोनयन दर्ता सुरु, मनोनयनको पहिलो दिन साना दल सक्रिय, ठूला दलले उम्मेद्वारी दर्ता गराउन सकेनन् 

रोदिक खबर

११, बैशाख २०७९
  • 4.2K
    SHARES
  • मनोनयन दर्ता सुरु, मनोनयनको पहिलो दिन  साना दल सक्रिय, ठूला दलले उम्मेद्वारी दर्ता गराउन सकेनन् 

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखको मनोनयन दर्ता गराउँदै एक उम्मेद्वार । 

    खोटाङ, ११ वैशाख। ३० वैशाखमा हुने स्थानीय तहको चुनावका लागि मनोनयन दर्ताको पहिलो दिन थोरै संख्यामा मात्र मनोनयन दर्ता भएको छ । मनोनयन दर्ताको पहिलो दिन खोटाङका कुनैपनि ठूला दलले उम्मेद्वारी दर्ता गराउन सकेनन् । प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेद्वार टुंग्याउन नसकेका कारण मनोनयन दर्ताको पहिलो दिन कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धन र एमालेले उम्मेद्वारी दर्ता गराउन नसकेका हुन् ।

    स्थानीय तहको निर्वाचनका लागि गठबन्धन र एमालेले रातभरमा उम्मेद्वार टुंग्याएर सोमबार साँझ ५ बजेसम्ममा उम्मेद्वारी दर्ता गराउने तयारी गरेका छन् । 

    पहिलो दिन राप्रपा, खम्बुवान राष्ट्रिय मोर्चा र मंगोल नेशनल अर्गनाइजेसनले केही स्थानीय तहमा प्रमुख, उपप्रमुख सहित वडाध्यक्ष र वडा सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् । केही वडामा एमाले र माओवादी केन्द्रका उम्मेद्वारले पनि वडाध्यक्ष र वडा सदस्यमा उम्मेद्वारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए । वडाध्यक्षमा तीन जनाको स्वतन्त्र उम्मेद्वारी परेको छ । 

    जिल्लाकै ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा खम्बुवान राष्ट्रिय मोर्चाको उम्मेद्वारी दर्ता भएको छ । हलेसी तुवाचुङ नगरपालिकामा मंगोल नेशनल अर्गनाइजेसनले प्रमुखमा मनोनयन दर्ता गराएको छ । मंगोल नेशनल अर्गनाइजेसनले हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा वडाध्यक्षको उम्मेद्वारी दिएका छन् । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

    यस्तै, ऐसेलुखर्क गाउँपालिकामा राप्रपाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा माओवादी केन्द्रले वडाध्यक्ष सहित चार सदस्यमा उम्मद्वारी दर्ता गराएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी र ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीमा राप्रपाले वडाध्यक्ष सहितमा मनोनयन दर्ता गराएको कार्यालयले जनाएको छ । 
    यस्तै, केपिलासगढी गाउँपालिका–१ फेदी, केपिलासगढी गाउँपालिका–३ बासपानी र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरमा एमालेले वडाध्यक्ष सहित सबै पदमा उम्मेद्वारी दर्ता गराएको छ । बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी परेको छ । फाक्टाङमै राप्रपाले एक वडा सदस्य र एक महिला सदस्यमा उम्मेदवारी दर्ता गराएको छ । रावाबेँसी गाउँपालिका–२ खार्पामा वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दर्ता भएको छ । रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा जसपाले वडाध्यक्ष र एक सदस्यमा उम्मेद्वारी दर्ता गराएको छ । 

    यस्तै, साकेला गाउँपालिका–२ रतन्छा र साकेला गाउँपालिका–५ मात्तिममा राप्रपाको वडाध्यक्षमा उम्मेद्वारी परेको छ । मात्तिममा राप्रपाको दुई वडा सदस्यको उम्मेद्वारी दर्ता भएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए । 

    स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने पहिलो दिन आज दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भने  कसैले मनोनयन दर्ता  नगरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ११, २०७९ आइतवार - २२:२०:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको