लियो पाईप प्रहरीले नियन्त्रणमा लिएको पाईप । तस्बीरः सामाजिक सञ्जाल
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा वितरणका लागि लगिएको पाइप प्रहरीले नियन्त्रणमा लिएको छ । वडा कार्यालयको चालु आर्थिक वर्षको बजेटबाट दिक्तेलबजारमा खरिद गरिएको खानेपानीको पाईप वडा कार्यालय लैजानेक्रममा प्रहरीले बाटैबाट नियन्त्रणमा लिएको हो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका वडाध्यक्ष निर्वाचित भएको वडामा एमालेले मतदाता प्रभावित पार्ने उद्धेश्यले खानेपानीको पाईप बाँड्न लागेको भन्दै गठबन्धनले दिएको सूचनाको आधारमा प्रहरीले १६ क्वाइल पाईप नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको पाईप हाल प्रहरीचौकी खानीडाँडामा राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।
नियन्त्रणमा राखिएको पाईप आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनपछि वितरणका लागि फिर्ता दिइने प्रहरीले जनाएको छ । वडा सचिव पवन श्रेष्ठले वडा कार्यालय लैजादै गरेको अवस्थामा प्रहरीले पाईप नियन्त्रणमा लिइएको हो । वडा कार्यालयले हरेक वर्ष डेढ लाखको पाईप खरिद गरेर दलित, जनजाती, महिला लगायतलाई वितरण गर्दैआएको जनाएको छ ।
त्यसकै निरन्तरतामा वडा कार्यालयले गत चैतमै पाईप बाँड्ने निर्णय गरेको थियो । तर हार्डवेयर पसलका सञ्चालकले ढिलागरी पाईप ल्याएकाले तोकिएको समयमा पाईप बाँड्न नसकिएको वडाध्यक्ष डिल्ली चाम्लिङले बताए । चाम्लिङ पुःन एमालेबाट वडाध्यक्ष बन्ने चुनावी दौडमा छन् । ‘हरेक वर्ष पाईप वितरण गर्दैआएका थियौं । यस वर्ष हार्डवेयरले ढिला गरिदिएकाले पाईप आउन ढिला भयो,’ चाम्लिङले भने, ‘त्यो पनि वडा कार्यालयमा पु¥याउन पाइएन ।
यो वडाको निर्धारित योजनाको काम हो ।’ वडाको पुर्वनिर्धारित योजना अन्तरगतको काम असार मसान्तसम्म गर्न सकिन्छ । तर ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनपछि पाईप वितरणको जिम्मा अर्कैको हातमा पुग्छ । त्यही भएर चाम्लिङले चुनाव अगावै पाईप वितरण गर्न खोज्दा समस्या सिर्जना भएको हो । तर गठबन्धन दलले मतदाता प्रभावित पार्ने प्रयोजनका लागि पाईप वितरण गर्न खोजेको आरोप लगाइरहेको छ ।
वडा सचिव श्रेष्ठले भने स्टोरका लागि लैजादै गरेको पाईप नियन्त्रणमा परेको बताए । ‘दलित, महिला, जनजाती लक्षित शिर्षकको बजेटबाट पाईप खरिदका लागि १९ चैतमा अडर गरेको थियौं,’ श्रेष्ठले भने, ‘निर्वाचन आचार संहिता लागू भइसकेको अवस्था छ । यो बेला पाईप वितरण गर्न नभै स्टोर गर्न भनेर लैजाँदै थियौं ।’