शुक्रवार, भाद्र २६ गते २०८३

टनेल लगायतका सामग्री बोकेको ट्याक्टर प्रहरी नियन्त्रणमा 

टनेल लगायतका सामग्री बोकेको ट्याक्टर प्रहरी नियन्त्रणमा 

रोदिक खबर

२२, बैशाख २०७९
  • 2.1K
    SHARES
  • टनेल लगायतका सामग्री बोकेको ट्याक्टर प्रहरी नियन्त्रणमा 

    खोटाङ । स्थानीय तह निर्वाचनमा मतदातालाई प्रभावित गर्ने उद्देश्यले वितरण गर्न टनेललगायत सामग्री बोकेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । दिक्तेलबाट निर्मलीडाँडा जादै गरेको को २ त ९३५४ नम्बरको ट्र्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

    ट्याक्टरमा ४० थान टनेल, १६ थान जस्तापाता, २० प्याकेट चाउचाउ, एक सिलिन्डर ग्यासलगायत सामग्री फेला परेको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले जनाए । लिने र दिने व्यक्तिको नामसमेत भएकाले थप अनुसन्धान भइरहेको डिएसपी लम्सालले बताए ।

    सोमबार पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा वितरण गर्न लागेको पाइप प्रहरीले नियन्त्रणमा लिएको थियो । चुनाव प्रभावित पार्ने गरी पाइप वितरण गर्न लागेको गुनासो गरेपछि नियन्त्रणमा लिइएको थियो । नेकपा एकीकृत समाजवादीका युवा नेता यादवसेन राईका अनुसार १६ क्वाइल पाइप प्रहरीले नियन्त्रण लिएको हो ।

    प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले भने वडाकै बजेट तथा कार्यक्रमअन्तर्गत पाइप ल्याएको र चुनावका बेला पाइप बाँड्दा वातावरण बिग्रने सम्भावना भएकाले सुरक्षित साथ राखिएको बताए । उनका अनुसार पाइप खानीडाँडास्थित प्रहरी चौकीमा राखिएको छ ।

    वडाका निवर्तमान वडाध्यक्ष डिल्ली राईले भने वडाको बजेटबाट दलित, एकल महिला र जनजातिलाई उपलब्ध गराउने योजनाअन्तर्गत पाइप ल्याइएको बताए । आफूले वडाध्यक्षबाट राजीनामा दिइसकेकाले पाइप ल्याउने जिम्मा वडासचिव पवन श्रेष्ठलाई दिएको वडाध्यक्ष राईले बताए । राईले पुनः नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

    प्रकाशित मिति :बैशाख २२, २०७९ बिहिवार - ११:४७:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको