निर्वाचित गाउँपालिका अध्यक्ष अरुणादेबी राई र उपाध्यक्ष खेम खड्का ।
खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धन विजयी भएको छ । गठबन्धनका गाउँपालिका अध्यक्ष अरुणादेबी राईले निकटतम प्रतिद्धन्द्धी शंखरबहादुर राईलाई ३०६ मतले हराउँदै विजयी भएकी हुन् । गाउँपालिका अध्यक्षमा निर्वाचित अरुणादेबीले २८८१ मत पाएकी छन्, भने शंखर बहादुरले २५७५ मत पाएका छन् ।
यस्तै उपाध्यक्षमा गठबन्धनकै खेमबहादुर खड्काले २८१२ मत ल्याएर विजयी भएका छन् । खड्काका निकटतम प्रतिद्धन्द्धी विमला राईले २४९५ मत पाएकी छन् । पराजित शंखरबहादुर र बिमला २०७४ को स्थानीय तह सदस्य निर्वाचनबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए ।
यस्तै, गठबन्धनको माओवादी केन्द्रबाट वडा नं. १ देबिस्थानमा केदारमान राई, वडा नं. २ बोपुङमा मस्तबहादुर राई, गठबन्धनको कांग्रेसबाट वडा नं. ३ काहुलेमा तारामान राई, वडा नं. ५ चिसापानीमा धनबहादुर राई, वडा नं. ६ दिप्लुङमा सागर राई विजयी भएका छन् भने वडा नं. ४ डम्बर्खुशिवालयमा एमालेका बिदुरमान राई निर्वाचित भएका छन् ।