खोटाङ । किरात राई विद्यार्थी संघ केन्दीय समितिले आयोजना गरेको ‘अनलाइन बक्तृत्वकला’ प्रतियोगितामा धरानकी विलम राई प्रथम भएकी छन् ।
आफ्नो २२ औं स्थापना दिवसको अवर पारेर संघले बुधबार आयोजना गरेको ‘मातृभाषामा शिक्षा’ विषयक अनलाइन बक्तृत्वकला प्रतियोगितामा १०९ प्रतियोगीलाई पछि पार्दै डिर्पोट कलेज धरानमा अध्ययनरत बिलमले प्रथम स्थान प्राप्त गरेकी हुन् ।
संघको केन्द्रीय कार्यलय कोटेश्वरबाट भर्चुअल्ली सञ्चालन गरिएको प्रतियोगीतामा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्यायनरत काठमाडौंकी अनिता माझी दोश्रो र पाँचपोखरी थाङपाल गाउँपालिका, सिन्धुपाल्चोकका छिरिङ शेर्पा तेश्रो भएका छन् ।
यस्तै, जनता बहुमुखी क्याम्पसमा अध्यायनरत संजिता राई, मोरङ रत्नमाईका सृजन विष्ट र त्रिभुवन विश्वविद्यालय कीर्तिपुर अध्यायनरत संखुवासभाका दिवस राई सान्त्वना भएको किरात राई विद्यार्थी संघका महासचिव रविन राईले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना स्थान प्राप्त सहभागीलाई क्रमशः जनही ३० हजार, २० हजार, १० हजार र ५ हजार प्रदान गरिने किरात राई विद्यार्थी संघले जनाएको छ ।
थुलुङ दुधकोशी नगरपालिका सोलुखुम्बूस्थित विरेन्द्र मावि मुग्लिमा अध्ययनरत दिब्या राई र मिक्लाजुङ गाउँपालिका पाँचथरका उत्तम लावती लिम्बूलाई प्रोत्साहित प्रतियोगि घोषणा गरिएको छ ।
कोराना भाइरस (कोभिड–१९) को महामारीका कारण भेला, बैठक, छलफल गर्ने अवस्था नभएका कारण संघले यसपल्ट अनलाइन बक्तृत्वकला प्रतियोगिता गरेको हो । कार्यक्रम संघका केन्द्रीय अध्यक्ष जितेन राईको अध्यक्षता एबं किरात राई यायोक्खाका अध्यक्ष दिवस राईको प्रमुख आतिथ्यतामा भएको थियो ।
हाल किरात राई विद्यार्थी संघले ‘मातृभाषामा शिक्षा अभियान’ सञ्चाल गरिरहेको छ । संघका अध्यक्ष राईले प्रतियोगितामा सहभागीको सबैभन्दा धेरै हेरिने भिडियोलाई सम्मान गर्ने घोषणा गरेका छन् ।
राईले भ्यूजको आधारमा एक महिना पछिको समय निर्धारण गर्दे सबैभन्दा धेरै हेरिने भिडियोलाई १० हजार रुपैयाँसहित प्रमाण–पत्र प्रदान गर्ने घोषणा गरेका हुन् । २०५६ भदौ १७ गते नवीन राईको अध्यक्षतामा किरावि संघको स्थापना गरिएको थियो ।