स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित खोटाङका नगरप्रमुख र अध्यक्षहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । ३० बैशाखमा भएको निर्वाचनबाट निर्वाचित नगरप्रमुख र अध्यक्षले दिक्तेलस्थित जिल्ला समन्वय समितिको हलमा शुक्रबार दिउँसो सपथ ग्रहण गरेका हुन् । निर्वाचित जनप्रतिनिधिलाई मूख्य निर्वाचन अधिकृत मात्रिकाप्रसाद आचार्यले सपथ खुवाएका थिए ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको यहाँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुखमा कांग्रेसका तीर्थराज भट्टराई र हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुखमा कांग्रेसका बिमला राई निर्वाचित भएका हुन् ।
यस्तै, रावाबेशी गाउँपालिका अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ, ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राई, केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर राई, साकेला गाउँपालिकामा कांग्रेसका रविप्रकाश राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई, खोटेहाङ गाउँपालिकामा माओवादी केन्द्रका उदिमबहादुर राई, जन्तेढुंगा गाउँपालिका अध्यक्षमा माओवादीकै अरुणादेबी राई र वराहपोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसका शालिकराम बञ्जारा निर्वाचित भएका छन् ।
गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई भने नगरप्रमुख तथा अध्यक्षले सपथ खुवाउने छन् । यसैविच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेशी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका प्रमुख तथा अध्यक्षले पदभार ग्रहण गर्दै आजै सपथ ग्रहण गराएका छन् ।
सपथ ग्रहणसँगै नवनिर्वाचित जनप्रतिनिधिहरुले देश र जनताप्रति पूर्ण बफादार भई काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
जिल्ला समन्वय समितिको सभा हलमा भएको सपथ ग्रहण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल, नेकपा एमाले खोटाङका अध्यक्ष राम दंगाल, नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशी, नेकपा माओवादी केन्द्र खोटाङका अध्यक्ष दिपक पाण्डे, जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापा, नेकपा एकीकृत समाजवादी खोटाङका अध्यक्ष जलशेर राई, राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राई, विभिन्न कार्यालयका कार्यालय प्रमुखलगायतको उपस्थिति रहेको थियो ।