शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङका ५ स्थानीय तहमा प्रमुख–उपप्रमुख दुबै पुरुष

खोटाङका ५ स्थानीय तहमा प्रमुख–उपप्रमुख दुबै पुरुष

रोदिक खबर

७, जेठ २०७९
  • 3.2K
    SHARES
  • खोटाङका ५ स्थानीय तहमा प्रमुख–उपप्रमुख दुबै पुरुष

    १० पालिका रहेको खोटाङमा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा १० वटै स्थानीय तहमा प्रमुखमा पुरुष आएपनि उपप्रमुख/उपाध्यक्षमा महिला नेतृ आएका थिए । तर, वैशाख ३० मा भएको दोस्रो स्थानीय निर्वाचनमा खोटाङमा दुई पालिका प्रमुखमा महिला आएपनि ५ वटा स्थानीय तहमा भने दुबै पद महिलाविहीन भएका छन् ।

    संविधानमा प्रमुख वा उपप्रमुख अनिवार्य महिला हुनुपर्ने भएपनि धेरैमा चुनावी तालेमलका कारण महिलाले मौका पाएनन् भने केहिमा फरक पार्टीबाट पुरुष नै पुरुष चुनिएका कारण महिला आउन सकेनन् ।

    खोटाङको सदरमुकाम रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रमुख र उपप्रमुख दुबै पुरुष निर्वाचित भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका तीर्थराज भट्टराई र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विसन राई निर्वाचित भए । त्यहाँ नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनावी तालेमल गरेर दुबै पदमा पुरुष उम्मेदवार बनाएका थिए ।

    यस्तै, ऐसेलुखर्क गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुबै पदमा पुरुष निर्वाचित भए । त्यहाँ एमालेका गिरेन्द्रबहादुर राई अध्यक्षमा चुनिँदा उपाध्यक्षमा नेपाली कांग्रेसका राजेश राजभण्डारी निर्वाचित भए । त्यस गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनावी तालेमल गरेको भएपनि अध्यक्ष पद भने गठबन्धनले गुमाएको छ ।

    केपीलासगढी गाउँपालिकामा पनि अध्यक्ष उपाध्यक्ष दुबै पदमा पुरुष निर्वाचित भएका छन् । नेपाली कांग्रेसका समिर राई अध्यक्षमा निर्वाचित हुँदा जनता समाजवादीका गुरुराज राई उपाध्यक्ष चुनिएका छन् । त्यहाँ माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल गरेका थिए भने नेपाली कांग्रेस र एमाले एक्लाएक्लै लडेका थिए ।

    खोटेहाङ गाउँपालिकामा पनि अध्यक्ष उपाध्यक्ष दुबै पदमा पुरुष निर्वाचित भएका छन् । माओवादी केन्द्रका उदिमबहादुर राई अध्यक्षमा निर्वाचित हुँदा नेपाली कांग्रेसका रुपेश राई उपाध्यक्ष चुनिएका छन् । त्यहाँ नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनावी तालेमल गरेर दुबै पदमा पुरुष उम्मेदवार बनाएका थिए ।

    बराहपोखरी गाउँपालिकामा पनि अध्यक्ष उपाध्यक्ष दुबै पदमा पुरुष निर्वाचित भएका छन् । नेपाली कांग्रेसका शालिकराम बञ्जरा अध्यक्षमा निर्वाचित हुँदा नेकपा एकीकृत समाजवादीका भुवलराज राई उपाध्यक्ष निर्वाचित भएका छन् । त्यहाँ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल गरेका थिए भने एमाले एक्लै लडेको थियो ।

     

    प्रकाशित मिति :जेठ ७, २०७९ शनिवार - १२:४८:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको