खोटाङ, ९ जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नयाँ नगरप्रमुख निर्वाचित भएर आए लगत्तै शारीरिक रुपमा अशक्त, एकल नागरिक र अभिभावक बिहिन बालबालिकाको लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको छ ।
नवनिर्वाचित नगरप्रमुख बिमला राईले सोमबार पदभार ग्रहण लगत्तै एकल महिला, एकल पुरुष, विधुवा, विधुर, ‘ख, ग र घ’ वर्गको अपांगता भएका नागरिक तथा अभिभावक विहिन बालबालिकाको निःशुल्क स्वास्थ्य वीमा कार्यक्रम सुरु गरिएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका (ग) वर्गको अपांगता भएका रमला राई र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका बिधुर दर्जीमान परियारलाई निःशुल्क स्वास्थ्य बीमाको कार्ड हस्तान्तरण गर्दै कार्यक्रमको सुरुवात गरिएको छ ।
एक पटक स्वास्थ्य बीमा गरेपछि बार्षिक न्यूनतम ३ हजार ५०० रुपैयाँ तिरेर स्वास्थ्य बीमा कार्ड नवीकरण गर्ने व्यवस्था छ । तर शारीरिक रुपमा अशक्त, एकल नागरिक र अभिभावक गुमाएका बालबालिकाको स्वास्थ्य बीमाको नवीकरण नगरपालिकाकोतर्फबाट गर्ने व्यवस्था मिलाइएको नवनिर्वाचित मेयर राईले बताईन् । नगर अस्पताल निर्माण गरेर आफ्नै नगरपालिकामा स्वास्थ्य बीमा वापतको स्वास्थ्य सेवा उपलव्ध गराउने गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अघि सारिएको जनाइएको छ ।
११ वडा रहेको नगरपालिकामा एकल महिला र विधुवा ७ सय जना छन् । (ख) वर्गका अपांगता भएका व्यक्ति ११७ जना, (ग) वर्गका अपांगता भएका व्यक्ति ६८ जना र (घ) वर्गका अपांगता भएका व्यक्ति ६३ जना छन् । विधुर र अभिभावक बिहिन बालबालिकाको संख्या संकलन भइरहेको नगरप्रमुख राईले बताईन् । यस्तै, नगरका ज्येष्ठ नागरिकलाई घरैमा स्वास्थ्य उपचार सेवाको व्यवस्था गर्ने निर्णय गरिएको नगरप्रमुख राईले बताईन ।
यस्ता छन् नवनिर्वाचित नगरप्रमुखका पाँच योजना
२०७४ सालमा उपमेयर बिजयी भएकी राई यसपल्ट नगरप्रमुखमा विजयी भएकी हुन् । नगरप्रमुख राईले सोमबार उपप्रमुख रमेश राउत, वडाध्यक्ष लगायतलाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन् । नगरप्रमुख राईले पदभार ग्रहण लगत्तै नगरपालिकाको विकास र संमृद्धिका लागि विभिन्न पाँच बुँदे योजना अघि सारेकी छन् । नगर योजना आयोग गठनदेखि कृषि, पर्यटनका माध्यमबाट नगरबासीलाई स्वरोजगार बनाउनेसम्मका योजना अघि सारेकी हुन् ।
१. नगर योजना आयोग गठन, विज्ञ समुहद्धारा नगर स्तरिय सम्पदा तथा संस्कृति संरक्षण परिषद गठन सम्वन्धी अवधारणा विकास गर्ने ।
२. नागरिकमाथि शासनका लागि प्रशासन होईन, आधुनिक प्रविधि व्यवस्थापन प्रणालीमार्फत सेवा प्रवाह सहित संस्थागत संरचनाको विकास गर्ने ।
३. प्राविधिक शिक्षालाई जोड दिँदै केही आधारभुत विद्यालय तहमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरुवात गर्ने ।
४. नगरपालिकाभित्रका एकल महिला, एकल पुरुष, विधवा, बिधुर, अपांगता भएका व्यक्ति र अभिभावक गुमाएका बालबालिकाको निःशुल्क स्वास्थ्य बिमा गरी नगर अस्पतालमार्फत सेवा प्रदान र ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा प्रदान गर्ने ।
५. नागरिकलाई कृषि, पर्यटनमा संलग्न गराई कपास खेती, पशुपालन क्षेत्रमा स्वरोजगार बनाइने ।