खोटाङ, १६ जेठ । खोटाङमा विद्यालय जाँदै गरेकी बालिकालाई बलात्कारको प्रयास गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । विद्यालय जाँदै गरेकी ८ वर्षकी बालिकालाई बलात्कारको प्रयास गर्ने खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका २६ वर्षीय भुवनकुमार प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।
बालिकालाई ११ जेठ बिहान ९.३० बजे बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएपछि फरार भएका प्रधानलाई आइतबार बिहान ४.३० बजे लुकिछिपी हिँडिरहेको बेला खोटाङबजारबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी एवं प्रहरी निरिक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए ।
प्रधानमाथि एक्लै भएको मौका पारेर नावालिकालाई समाएर बोकेर घारीमा लगेर संवेदनशिल अंग समाउँदै भुईमा लडाएर पेन्ट खोलेर जवरजस्ती करणी गर्न खोजेको अभियोग छ । करणी प्रयासका क्रममा नावालिका भाग्न सफल भएको प्रहरीले जनाएको छ । नावालिकामाथि बलात्कार प्रयास गर्ने अभियुक्त विरुद्ध पीडित पक्षले कानुनी कारबाहीको माग गर्दै १३ जेठमा वालयौन दुरुपयोग कसुरमा किटानी जाहेरी दिएका थिए ।
करणीबाट फुत्किन सफल भएकी बालिका रुँदै घर फर्किएर आमालाई जानकारी दिएपछि घटना बाहिर सार्वजनिक भएको थियो । घटना लगत्तै पीडित बालिकाको परिवारले आवाज उठाएपछि तत्कालै गाउँमा पिडक र पीडित पक्ष राखेर प्रधानलाई माफ मगाएर मिलापत्र गराइएको थियो । तर अन्य आफन्तको सल्लाहमा पीडित परिवार इलाका प्रहरी कार्यालय खोटाङबजारमा जाहेरी दिन पुगेका थिए । अभियुक्तले यसअघि पीडित बालिकाकी दिदीलाई समेत यौन दुव्र्यवहार गरेको आफन्तले दावी गरेका छन् ।