• ट्रेण्डिङ:

हलेसी तुवाचुङ नगरपालिकाका सबै माविमा अंग्रेजी माध्यमबाट पठन–पाठनको तयारी

हलेसी तुवाचुङ नगरपालिकाका सबै माविमा अंग्रेजी माध्यमबाट पठन–पाठनको तयारी

रोदिक खबर

१९, जेठ २०७९
  • 4.4K
    SHARES
  • हलेसी तुवाचुङ नगरपालिकाका सबै माविमा अंग्रेजी माध्यमबाट पठन–पाठनको तयारी

    खोटाङ, १९ जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै माविमा अंग्रेजी माध्यमबाट पठन–पाठनको तयारी गरेको छ । बिहिबार नगरप्रमुख बिमला राईको अध्यक्षतामा सम्पन्न शिक्षा समितिको बैठकले नगरका सबै माबि तहका १२ बिद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठनको व्यवस्था गर्ने निर्णय गरेको हो ।

    अंग्रेजी माध्यमको पठन पाठनप्रति विद्यार्थी तथा अभिभावकको बढ्दो आकर्षण र मागलाई मध्यनजर गर्दै नगरपालिकाले मावि तहका बिद्यालयमा अंग्रेजी माध्यम लागू गर्ने तयारी गरेको हो । अंग्रेजी माध्यमबाट पठन–पाठनको पुर्वतयारीमा २० जेठमा ११ वडाका वडाध्यक्ष, १२ माबिका प्रअ र विव्यास अध्यक्षसँग छलफल गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । सुरुमा माविबाट अंग्रेजी माध्यम लागु गर्ने र क्रमशः अन्य विद्यालयलाई यसतर्फ ‘मोटिभेट’ गरिने हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख बिमला राईले बताइन् ।

    ‘अंग्रेजी पढाइकै लागि बालबच्चालाई बाहिर निजी बिद्यालयमा पठाउने गरिएको छ । स्वयं जनप्रतिनिधि, कर्मचारी, शिक्षक र वैदेसिक रोजगारमा संलग्न परिवारको बालबच्चा निजी विद्यालयमा छन्,’ नगरप्रमुख राईले भनिन्, ‘सामुदायीक विद्यालयमा विद्यार्थीको आकर्षणका लागि सुरुमा माबि तहमा अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गर्ने निर्णय गरेका हौँ ।

    यसका लागि अधिकांश मावि तयार छन् । सक्ने जुनसुकै विद्यालयले अंग्रेजीमा पठन पाठन गराउन सक्ने छन् ।’ बैठकले विद्यार्थी संख्या न्युन भएका विद्यालयको समायोजन वा घटुवा गर्ने तथा बढी विद्यार्थी भएका विद्यालयमा कक्षा थप एवं शिक्षक व्यवस्थापनका लागि अध्ययन गरी प्रतिबेदन पेश गर्न सामाजिक विकास समितिका संयोजक एवं शिक्षा समिति सदस्य रुद्रकुमार राईको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको छ ।

    यस्तै, शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा शाखा र प्रअबीच कार्य सम्पादन करार सम्झौता गर्ने, यथाशिघ्र वडा शिक्षा समिति पुःनर्गठन गर्ने, चौमासिक रुपमा तलव पाउँदै आएका शिक्षकलाई आगामी आर्थिक वर्षदेखि मासिक रुपमा उपलव्ध गराउने निर्णय भएको शिक्षा शाखा संयोजक पदम कार्कीले जानकारी दिए ।

    प्रकाशित मिति :जेठ १९, २०७९ बिहिवार - २२:४५:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको