खोटाङ, २० जेठ । बाइकको ठक्करबाट खोटाङमा राप्रपाका नेता जीवनकुमार श्रेष्ठ गम्भीर घाईते भएका छन् । प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटर साइकलले ठक्कर दिँदा ५६ वर्षीय श्रेष्ठ गम्भीर घाईते भएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरो प्वइन्टबाट बजारभित्र जाँदै गरेको बाइकले श्रेष्ठलाई सपिङ कम्प्लेक्स अगाडि सडक छेउमा ठक्कर दिएको थियो । श्रेष्ठ आफ्नो परिवार सहित सपिङ कम्प्लेक्स नजिकै बस्दै आएका छन् ।
स्पीडमा पछाडिबाट आएको मोटर साइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा चोट लागेको छ । श्रेष्ठलाई उपचारका लागि दिक्तेलको फेमिली केयर अस्पतालमा लगिएको थियो । फेमिली केयरले रेफर गरेपछि श्रेष्ठलाई हेलीकोप्टरमार्फत न्युरो अस्पताल बासबारी लगिएको छ । उनी राप्रपा खोटाङका निवर्तमान अध्यक्ष हुन् । उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगरप्रमुखका उम्मेदवार थिए ।
बाइक दुर्घटनामा सवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी ४८ वर्षीय बिष्णुकुमारी राई पनि घाईते भएकी छन् । हेलीकोप्टरबाट श्रेष्ठसँगै काठ्माण्डौं पठाइएकी राईको पनि न्युरो अस्पतालमै उपचार भइरहेको छ । बाइक चालक लफ्याङका १७ वर्षीय अभिषेक राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते बिष्णुकुमारी र अभिषेक आमाछोरा हुन् ।