खोटाङ, २१ जेठ । किरात समुदायको उद्गमथलो मानिने खोटाङको तुवाचुङ जायजुममा सुप्तुलुङ (चुला) पूजा तथा साकेला सिली प्रदर्शन गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकामापर्ने तुवाचुङ जायजुमडाँडामा उभौली चाडको अवसरमा शनिबार किरात राई समुदायले तीन चुला पूजा गर्दै साकेला सिली प्रदर्शन गरेका हुन् ।

खोटाङ, उदयपुर, ओखलढुंगा, भोजपुर लगायतका राई समुदाय तुवाचुङ जायजुममा भेला भएर सामुहिक रुपमा चुला पूजा गर्दै साकेला नाचेका छन् । ऐतिहासिक एबं पर्यटकीयस्थल तुवाचुङ जायजुममा पितृको सम्झना एबं संस्कार संस्कृतिको संरक्षणको सन्देश दिनका लागि तुवाचुङ जायजुम संरक्षण समितिले हरेक वर्ष (चुला) पूजा तथा साकेला सिली प्रदर्शन गर्दै आएको छ ।

नछुङ चारुमान राईले तीनचुलाको पूजा गरेपछि हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला राईले प्रमुख अतिथिका रुपमा रिबन काटेर साकेला सिली उद्घाटन गरेकी थिईन् । कोभिड–१९ को महामारीका कारण रोकिएको तीन वर्षपछि मात्र तुवाचुङ जायजुममा चुला पूजा गर्दै साकेला नाचिएको हो ।
ढोल, झ्याम्टा र साकेला गीतले तुवाचुङ जायजुमडाँडा दिनभर गुञ्जायमान भएको थियो । परम्परागत भेषभुषामा सजिएर अलग अलग समुहमा ढोल, झ्याम्टा बजाएर साकेला गीत गाउँदै तुवाचुङ जायजुम आएको र फर्किएको मनमोहक दृश्य देखिएको थियो । साकेला सिली प्रदर्शनीमा विभिन्न स्थानमा १५ समुहले साकेला नाच प्रस्तुत गरेका तुवाचुङ जायजुम संरक्षण समितिका अध्यक्ष राकेश राईले बताए ।

किरात राईको पूर्खा तायामा, खियामा र रैछाकुलेले कृषि युग र मानव सभ्यताको सुरुवात गरेको किंवदन्ती बोकेको स्थलमा हरेक बैशाख पूर्णिमा र मंसिर पूर्णिमाको अवशरमा एक÷एक पटक चुला पूजा गर्ने गरिएको तुवाचुङ जायजुम संरक्षण समितिका महासचिव दिनेश राईले बताए ।

मध्यपहाडी लोकमार्गले छोएको तुवाचुङ जायजुममा किरात राईको पूर्खा रैछाकुले, तायामा र खियमाको ढलौटको मूर्ति राखिएको छ । प्राकृतिक रुपमा रहेका रैछाकुले र तान बुन्ने ढुंगालाई पर्खालको घेराबारा हालिएको छ । सो स्थानमा विभिन्न चाडको अवशरमा पनि स्थानीयको भीड लाग्ने गरेको छ । तुवाचुङ जायजुमको नाममा १५१ रोपनी जग्गा रहेको संरक्षण समितिले जनाएको छ ।

यस्तै, भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित १० वटै पालिकाका प्रमुख तथा उपप्रमुख र हलेसी तुवाचुङ नगरपालिकाभित्रका ११ जना वडाध्यक्षहरुलाई बधाई तथा सम्मान गरिएको संरक्षण समितिका महासचिव राईले बताए ।

