खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० का वडाध्यक्षले महिला कर्मचारीसँग काम गर्न असहज हुने भन्दै पुरुष कर्मचारी माग गरेका छन् । वडा अध्यक्ष अर्जुन कुमार पुरीले मंगलबार प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै वडा सचिव पुरुष नै व्यवस्था गरिदिन माग गरेका हन् ।
नगरपालिकाले १० नं वडामा सुशिला दाहाललाई हालै सरुवा गरी पठाएको थियो । तर सोमबार बसेको वडा समितिको बैठकले उनलाई हाजिर नगराई पुरुष कर्मचारी नै माग गर्ने निर्णय गरेको हो । नगरमा पठाएको पत्रमा भनिएको छ, ‘महिला वडा सचिवबाट असजिलो हुने भएको कारणले यस वडामा पुरुष कर्मचारी नै वडा सचिव व्यवस्था गरिदिनुहुन यस वडाको मिति २०७९ जेठ ३० गतेको वडा समिति बैठकको निर्णय अनुसार अनुरोध छ ।’

हलेसी तुवाचुङ नगरपालिकाको नगरप्रमुख बिमला राई हुन् । यही नगरपालिकाका वडा नं ५ र ७ मा पनि महिला कर्मचारी छन् । महिला कर्मचारीलाई अस्वीकार गरेकोबारे जानकारी पाएको बताउँदै बिहीबार कार्यालय पुगेर छलफल गर्ने नगरप्रमुख राईले बताइन् ।
‘लोक सेवा आयोग पास गरेर आएका कर्मचारीलाई महिला भएकै कारण अयोग्य भन्ने अधिकार कसैलाई पनि छैन । जसरी जनताबाट निर्वाचित वडाध्यक्षलाई कमजोर भन्दै मैले फिर्ता गर्न मिल्दैन, त्यसैगरी लोक सेवा आयोग पास गरेको कर्मचारीलाई पनि जनप्रतिनिधिले अयोग्य भनेर फिर्ता गर्न मिल्दैन’, नगरप्रमुख राईले भनिन् ।
वडा अध्यक्ष पुरीले पनि पुरुष नै वडा सचिव माग गरेको स्वीकार गरे । उनले भने, ‘हाम्रो वडा अलिक ठूलो पनि छ । नवलपुर अलिक टाढा छ । त्यहाँ गएर हप्ताको एक दिन सेवा सुविधा दिने भनेर हामीले निर्णय गरेका छौं । उहाँको बच्चा पनि सानो भएको कारणले हेरबिचार गरिपाउँ भनेको हो ।’ वडाध्यक्ष पुरी एमालेबाट निर्वाचित हुन् ।