• ट्रेण्डिङ:

हलेसी तुवाचुङ नगरपालिका पूर्ण खोप सुनिश्चितता नगर घोषणा

हलेसी तुवाचुङ नगरपालिका पूर्ण खोप सुनिश्चितता नगर घोषणा

रोदिक खबर

१६, आषाढ २०७९
  • 3.7K
    SHARES
  • हलेसी तुवाचुङ नगरपालिका पूर्ण खोप सुनिश्चितता नगर घोषणा


    दुई वर्षमुनिका सबै बालबच्चाले सबै किसिमका खोपपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिना उमेर समुहका सबै बालबच्चाले सबै खालका खोपको मात्रा पाएको निश्चित भएपछि नगरपालिकालाई पूर्ण  खोप सुनिश्चितता नगर घोषणा गरिएको हो ।

    पूर्ण खोप सुनिश्चित गर्ने कार्यविधि र निर्देशिका बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा भएको आधारमा ११ वडा रहेको नगरपालिकालाई बुधबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरेका हुन् ।

    ha.jpg

    स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकालाई ५११ जना बालबालिकालाई सबै खोपको मात्रा दिनुपर्ने लक्ष्य दिएकामा ९६ प्रतिशत अर्थात ४९१ बालबालिकाले सबै किसिमका खोप पाएको निश्चित गरिएको नगरपालिकाका स्वास्थ्य सहसंयोजक प्रकाश घिमिरेले बताए ।

    जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १२ रोग बिरुद्धको खोपको मात्रा पूर्ण रुपमा पाएको आधारमा हलेसी तुवाचुङ जिल्लाकै पूर्ण खोप सुनिश्चितता पालिका बनेको हो । सामान्यतः १५ महिनामा दादुराको दोश्रो खोप लगाइसकेपछि बच्चाले पूर्ण खोप पाएको मानिन्छ ।

    १६ महिनादेखि २३ महिनाका सबै बालबच्चाले सबै किसिमका खोप पाइसकेपछि नगरका हरेक वडा खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चितता वडा बनेको उल्लेख गर्दै नगर स्वास्थ्य शाखा समक्ष सिफारिस गरेको थियो ।

    सोही सिफारिसको आधारमा नगर खोप समन्वय समितिको ८ असारको बैठकले नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणाका लागि उपयुक्त भएको सिफारिस जिल्ला खोप समन्वय समिति समक्ष गरेको थियो ।

    नगर खोप समन्वय समितिको सिफारिसका आधारमा गरिएको र्‍याण्डम अनुगमनपछि जिल्ला खोप समन्वय समितिले १२ असारमा पूर्ण खोप सुनिश्चितता घोषणाका लागि पत्र दिएको आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको सह–संयोजक घिमिरेले बताए । नगरपालिका घर भएका तर हाल बाहिर बसिरहेका बालबच्चाले समेत सबै किसिमका खोप पाएको सुनिश्चित गरिएको नगरप्रमुख बिमला राईले बताईन् ।

    पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रमको अवशरमा स्वास्थ्य चौकी महादेवस्थानकी महिला स्वास्थ्य स्वयंसेबिका बसन्तकुमारी राईलाई उत्कृष्ट स्वंयमसेविका पुरस्कार प्रदान गरिएको छ ।

    उत्कृष्ट कार्यसम्पादन गर्ने महिला स्वास्थ्य स्वयंसेबिका राईलाई नगद सहित दोसल्ला ओढाएर कदर–पत्र प्रदान गरिएको छ । सोही कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक स्वास्थ्य प्रतिवेदन पनि सार्वजनिक गरिएको छ ।

    hale.jpg

    पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा जिसस प्रमुख राई, निवर्तमान जिसस प्रमुख ववि चाम्लिङ, उपप्रमुख रमेशकुमार राउत, नेपाली कांग्रेसका निवर्तमान सभापति नरेश श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला समन्वय समिति अध्यक्ष दिपक पाण्डे, जनता समाजवादी पार्टीका जिल्ला सचिव जीवराज पोखरेल, स्वास्थ्य कार्यालयका प्रमुख पुन्यप्रसाद सिग्देल, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री लगायतको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :आषाढ १६, २०७९ बिहिवार - ०७:३७:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको