खोटाङ, २० असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पहिरोका कारण ६ घर विस्थापित भएका छन् । शुक्रबार राती परेको भारी वर्षाका कारण गाउँ चिरा–चिरा पर्दा साविकको जालपा–८ सावालुङका जीतबहादुर राई, भीमबादुर राई, कर्णबहादुर राई, रामीरा राई र शारदा राईको परिवार विस्थापित भएका हुन् ।
यस्तै, पहिरोका कारण साविकको जालपा–३ का धनकुमार बिश्वकर्माको परिवार पनि विस्थापित भएको छ। धाँजा फाटेर पहिरो गएर बगाउने खतरा भएपछि विस्थापितलाई हुर्लुङ–जालपा–फेदी सडक छेउमा खेतमा प्लाष्टिक टनेल टाँगेर अस्थायी बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष दानबहादुर राईले बताए ।

वडा कार्यालय र टोल विकास संस्था सावालुङको पहलमा विस्थापितलाई शनिबारदेखि अस्थायी बसोबासको व्यवस्था मिलाइएको हो । विस्थापितमध्ये एकल महिला रामीरा र अभिभावक बिहन शारदाको अवस्था नाजुक छ ।
घटनाका विषयमा जानकारी आएपछि प्रहरीलाई मुचुल्का उठाउन लगाइएको उपप्रमुख बिसन राईले बताए । बिस्थापितको उद्धार तथा राहतका लागि पहल गरिने उपप्रमुख राईको भनाइछ ।