साकेला/कार्यालयबाट हुने सेवा प्रवाहलाई सहज र सरल बनाउनका लागि खोटाङको साकेला गाउँपालिकामा स्थानीय शासन, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि सात दिने अभिमुखिकरण तालिम भईरहेको छ । वडाबाट सम्पादन हुने स्थानीय पञ्जिकरणको सम्पूर्ण काममा सहजता ल्याई नागरिकहरुलाई छिटो छरितो माध्यमद्धारा अनलाइनबाट घटना दर्ता गराउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो ।
नेपाल सरकारले सन् २०२४ सम्ममा व्यक्तिगत घटना दर्तालाई अनलाइन माध्यमबाट शतप्रतिशत गराउने लक्ष्य लिएको छ । सोहि अनुरुप साकेला गाउँपालिकाले पनि २०७८ वैशाख १ गतेदेखि सबै वडामा अनलाइन प्रणाली लागू गरेको छ । यद्यपि उक्त प्रणालीलाई थप व्यवस्थित बनाई प्रभावकारी सेवा प्रवाहका लागि तालिम प्रदान गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राईले सुशासनलाई प्रवद्र्धधन गर्दै जनमैत्री शासन प्रणालीमा पछि परेका वर्ग र समुदायलाई प्राथमिकता दिदै तालिममा सिकेका कुराहरुलाई प्रयोग गर्न सहभागिहरुलाई निर्देशन दिएका छन् ।

तालिममा स्थानीय सरकार सञ्चालन, सुशासन र वित्तिय अनुशासन, वित्तिय अधिकार र क्षेत्र, संघ प्रदेश र स्थानीय तहबीच समन्वय, स्थानीय तहमा लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणको संवेदनशिलता, वित्तिय साक्षरता र बैङ्किङ प्रणाली, व्यक्तिगत घटनादर्ता, समाजिक सुरक्षा, गुनासो दर्ता र प्रक्रिया, न्यायिक समितिको अधिकार क्षेत्र, ऐन नियम नियमावली र कार्यविधिहरु, सेवा प्रवाह र संयन्त्रहरु लगायतको विषयमा प्रशिक्षण गराईएको वडा नं. २ का वडा सचिव सुवाश राईले जानकारी दिए ।
वडा सचिव राईका अनुसार प्रमुख प्रशासकीय अधिकृत महेश राई, योजना अधिकृत सन्तोषकुमार राई, पूर्ण सरसफाई अभियानका संयोजक पेम्वा तामाङ, लेखापाल भोजराज खनाल र एमआईएस अपरेटर चाम्लिङले तालिमको सहजीकरण गरिरहेका छन् ।
गाउँपालिकाका अध्यक्ष राईले शुक्रवार उद्घाटन गरेको तालिममा नवनिर्वाचित वडा अध्यक्ष, कार्यापालिका सदस्य, वडा सचिव र कर्मचारी सहित २५ जनाको सहभागी रहेको छ ।