दक्षिण एसियाली खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई सम्मान

दक्षिण एसियाली खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई सम्मान

रोदिक खबर

२१, आषाढ २०७९
  • 4.5K
    SHARES
  • दक्षिण एसियाली खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई सम्मान

    खोटाङ । १३ औं दक्षिण एसियाली खेलकुद(साग) प्रतियोगिताका विजेता खेलाडीहरुलाई खोटाङमा सम्मान गरिएको छ। किरात राई खेलकुद संघको तेश्रो राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा मंगलबार नगदसहित सम्मान गरिएको हो।

    दिक्तेलस्थित बहुउद्देश्य कबर्ड हलमा भएको कार्यक्रममा साग प्रतियोगिताका स्वर्ण पदक, कास्य पदक, रजत पदक विजेता, प्रशिक्षक र टिम व्यवस्थापकलाई जनही दश हजार र सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको किरात राई खेलकुद संघले जनाएको छ।

    संघले १३ औं साग प्रतियोगितामा तेक्वान्दोमा स्वर्ण पदक जितेका सुशिला राई(सुनसरी), उसुमा कास्य पदक जितेका अशोक खालिङ राई (ईलाम), स्क्वासमा कास्य पदक जितेका भावना सुनुवार(रामेछाप), आर्चरीका टिम व्यवस्थापक मिना कुमारी रञ्जु(उदयपुर), बक्सिङका टिम व्यवस्थापक प्रमिला राई(झापा) र १२ औं साग प्रतियोगितामा कबड्डीमा कास्य पदक जितेका सम्झना राई(बारा)लाई नगद सहित सम्मान गरेको हो।

    सम्झनालाई सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक प्रमुख राष्ट्र राई र किरात राई यायोक्खा बेलायतका अध्यक्ष योगेश कोयुको तर्फबाट दश हजारले सम्मान गरिएको छ।

    यस्तै, मुआईथाई वल्ड च्याम्पियन सन्जय राईलाई पनि दश हजार नगद र सम्मान पत्र प्रदान गरिएको छ। विजेता खेलाडीहरुलाई प्रदेश नं. १ का सामाजिक विकास मन्त्री राजन राईले नगद र सम्मान पत्र प्रदान गरेका हुन्।

    महाधिवेशनको अवसरमा १३ औं र १२ औं सागमा स्वर्ण पदक विजेता ३ जना, कास्य पदक विजेता १० जना, रजत पदक विजेता १४ जना, प्रशिक्षक २ जना र टिम व्यवस्थापक २ जना सहित ३१ जनालाई सम्मान गर्ने लक्ष्य रहेकामा ६ जनालाई मात्रै सम्मान गरिएको किरात राई खेलकुद संघका अध्यक्ष महेन्द्र कुमार राईले बताए।

    राईका अनुसार सागका अन्य विजेता खेलाडी एसियन क्यामको बन्द प्रशिक्षण र विदेशमा भएकाले काठमाण्डौमै सम्मान गरिनेछ। कार्यक्रममा अन्य विभिन्न विधाका खेलाडी तथा प्रशिक्षकहरुलाई पनि सम्मान गरिएको थियो।

    प्रकाशित मिति :आषाढ २१, २०७९ मंगलवार - २२:२३:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको